kumari
stcnepal

देश र जनताले पीडावोध गर्नुपर्ने यो कस्तो परिवर्तन हो ?

 

राजन कार्की
बामपन्थ आफैमा जनता जनतावीच समानता कायम गर्ने, समानुपातिक समाज निर्माण गर्ने सिद्धान्त हो । यही सिद्धान्तको भर परेर जनताले नेपाललाई वाममय बनाइदिए । विश्वले नेपाल कम्युनिजमका लागि उर्बर भूमि मान्यो । तर १८ वर्षमा बामपन्थीहरुले समानता, समानुपातिक, सर्वहारावाद, जनतावाद सबै सिद्धान्त र विश्वासलाई नङ्ग्याएर छाडे ।
नेपाल दण्डहीन बनाउने बाम हुन्, नेपाल असमान बनाउने बाम हुन्, नवसम्भ्रान्त बनेर वामपन्थी हुँ भन्नेहरुले गोर्कीजस्ता, माओजस्ता कम्युनिष्टहरुको समेत बेइजत गरिदिएका छन् ।
नेपालमा जो धनी छन्, ती कम्युनिष्ट छन् । जो शिक्षा, स्वास्थ्यका माफिया छन्, ती बामपन्थी बढी छन् । पुँजीवादी त पुँजीवादी भए, जनवादीसमेत पुँजीवादीभन्दा बढी पुँजी संकलन गरेर डन बनेका छन् । सामन्तवाद फाल्ने भाषण गर्छन्, आफै सामन्तवादको गद्दीमा बसेर नवसामन्त बनेका छन् । वामपन्थी इतिहासमा नेपाल बद्नाम छ, गरीवलाई कम्युनिष्टहरुले गर्नुसम्म दुरुपयोग गरेका छन् ।
नेपालको दृष्टान्तले विश्व कम्युनिष्ट आन्दोलनको धक्कु लगाउनेहरुले भन्न थालेका छन्– कम्युनिष्ट सिद्धान्त नेपालकै कम्युनिष्टका भ्रष्ट चरित्रले गर्दा पतनोन्मुख हुनथाल्यो । पुँजीवादी, प्रजातन्त्रवादीहरु भ्रष्ट थिए, अनैतिक भए, लोकतन्त्रलाई असफल पारिसके, कम्युनिष्टले केही गर्ला कि भनेको, यो सिद्धान्तले पनि नेपालमा लोकको अपमान नै ग¥यो ।
कुनै समय थियो– कवाडी पसलमा काम गर्न पुगेका मेक्सिम गोर्कीले पढ्न पाएनन् । कवाडीमा बिक्री भएर आएका पुस्तक पढ्थे र ग्राहकसँग पुस्तकका विषयमा सोध्थे । तिनै मेक्सिम गोर्कीले आमा पुस्तक लेखे । जुन पुस्तक १९०६ मा प्रकाशित भएको थियो, आज १ सय १५ वर्षपछि पनि त्यो पुस्तकको गरिमा र महिमा कम भएको छैन । कम्युनिष्टहरू गोर्कीलाई आदर्श मान्छन् तर नेपाली कम्युनिष्टहरू आदर्श पुरूषले लेखेको आमाको महत्व नबुझेर आमालाई बेचिरहेका छन्, ठगिरहेका छन्, कमाउने साधन बनाइरहेका छन् ।
जनयुद्धकालमा सर्वहाराका लागि धर्मयुद्ध लडेको भनियो । कमाण्डर प्रचण्ड तेजवान सूर्यजस्ता थिए, १७ वर्ष राजनीतिको किङपिन बने, ९ वर्ष सत्तामा साझेदार भए । आखिर संक्रमणकालीन न्यायका लागि केही गर्न सकेनन् । ६ महिनामा बन्नुपर्ने सहमति १८ वर्षपछि भएको छ तर पीडितहरु, मानवाधिकारवादीहरु भनिरहेका छन्– पीडकलाई राहत दिने खालको कानुन बन्दैछ । यो मान्य छैन ।
कांग्रेस त प्रजातन्त्रको बिडा उठाएको भन्छ, प्रजातन्त्रलाई सफल पार्न सिद्धान्तमा अड्न समेत सक्दैन । यस्तो कांग्रेसको विषयमा बहस गर्नु बेकार छ ।
कम्युनिष्टले त केही गर्लान् कि भनेर जनताले सधैंै साथ दिएका थिए, तर जनतालाई धोका दिए । जनयुद्ध र जनआन्दोलन छलकारा थियो, प्रचण्ड, ओलीहरू त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, बोल्सेविक क्रान्तिको डिङ हाँके पनि २०६३, २०६५ को जनआन्दोलन र गणतन्त्र घोषणा गरे । यसको खास मकसद आफै सत्तामा हालीमुहाली हुने, नवसम्भ्रान्त बन्ने रहेछ । यिनको १८ वर्षको व्यवहारले १९०३ को कोतपर्व लाई बिर्साइदिएको छ ।
कम्तिमा जनता र माटोप्रतिको मायाँ र देशप्रतिको गौरव त हुनुपथ्र्यो । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु हुनुपथ्र्यो । हाम्रा नेताहरूमा स्वार्थमात्र देखियो । स्वार्थीहरू कायर हुन्छन्, कायरहरू पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरू कायरभन्दा फरक देखिएनन् ।
समाज सुधारक हुन्छ राजनीति । राजनीतिमा धर्म हुन्छ । प्रतिबद्धता र सिद्धान्त हुन्छ, सिद्धान्तप्रति निष्ठा हुन्छ । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजारको पसल बनाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरू दिनदिनै धनी भइरहेका छन्, सर्वहारा र गरीवहरू झन झन थपिदैछन् । देशको माटो र पहिचान संकटमा परेका छ ।
राष्ट्रिय स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरूमा हुन्न, नेपाली राजनीति यही महारोगबाट ग्रस्त छ । कूशासनको पहिलो कारण निष्ठा र नैतिकहीनता हो । इमानको अभावमा भ्रष्टाचार बढेको छ । भ्रष्टाचार भनेको मृत्यु हो, समृद्ध नेपाल र सुखी नेपालीको रामनाम जपेर मृत्युबाट पार पाउन सकिन्न । ओखती इमान हो, इमान रहेन । परिवर्तनकारी नेतृत्व हरेक दिन राजनीतिक मृत्यु मरिरहेको छ ।
न्याय छैन, अन्याय बढेको छ । अपराधिक राजनीतिकै कारण चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाल छ, नयाँ नेपाल बनाउँछु भन्नेहरूसँग निष्ठा छैन । निष्ठा नहुने बेइमान हुन्छन् ।
१८ वर्षअघि जनताको नासो जनतालाई बुझाएर राजदरवारबाट नागार्जुन जंगलतिर लागेका राजा ज्ञानेन्द्र आजसम्म त्यो नासोको खोजखबर गरिरहेका छैनन् । देश दुःखेको, जनता बेसहारा भएको, अभिभावकहीनताप्रति चिन्ता गर्छन्, भार उठाउने साहस गरिरहेका छैनन् । उनीभन्दा लोकतन्त्रवादी र लोकसमर्थन पाउने व्यक्ति कुनै छैन । तर उनलाई जुरूक्कै उठाउने जनताको बिद्रोह भइसकेको छैन । राजा चुनावमा जाने होइन, जनबिद्रोहले आउने हो । बिद्रोह समयको प्रतिक्षामा छ । बिद्रोहको सुरुआत भएको छ, ज्वारभाटा बन्ने तरखरमा छ ।
पूर्वराजा देश र जनताको पीडामा पीडित छन् । उनका अभिव्यक्तिबाट पीडा देखिन्छ । देश लथालिङ्ग हुँदै गएको र जनता बिल्लिबाठमा परेको बेलामा वीरका सन्तानले गर्नुपर्ने के हो ? त्यो काम कर्तव्य समयको माँग हो । जनता र राजाले अब बिद्रोह गर्नैपर्छ । सडकमा उत्रिएका जनता, नासो फिर्ता लिनुपर्छ भनेर चिच्याइरहेका छन् । त्यो आवाज सुन्नुपर्छ, देश र जनताको भार उठाउनका लागि केही त गर्नैपर्छ ।
जनताको काँधमा ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरू कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरू सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् । नेपाली राजनीतिमा भयानक जनयुद्ध भयो, डरलाग्दो जनआन्दोलन पनि भयो । त्यसबाट जन्मेको हो परिवर्तन । परिवर्तन यस्तो जनतामारा होला भन्ने कसले सोचेको थियो । परिवर्तन देशघातक समेत सिद्ध भइसकेको छ ।
०६३ सालको परिवर्तनपछिको नेपाल झन बिकराल समस्याले जेलिन थालेको छ । अस्तित्वको संकटमा फस्न पुगेको छ । यो सबको कारक यिनै परिवर्तनकारी नेताहरूको स्वार्थन्धता हो । यी धृतराष्ट्र रुपी नेतृत्वलाई अब बिस्थापन गर्नैपर्ने भएको छ ।
अब त केही होला कि भनेर हरेक चुनावमा जनताले यिनैलाई मत दिएका छन्, मत अर्थात अवसर दिएका छन् । त्यो अवसरको दुरूपयोग मात्र गरिरहेका छन् । मतदान जनताका लागि अभिषाप बनेको छ । नेताहरू लज्जाहीन अनियमतिता गरेर, भ्रष्ट बनेर तिनै जनतामाथि शासन गरिरहेछन् । यस्तो शासन के शासन, जहाँ जनताको विश्वास नै छैन । जनताले परिवर्तन भयो भन्ने अनुभूति गरेकै छैनन् । लोकतन्त्र कता छ कता ?
व्यवस्था परिवर्तन भयो, नेतृत्वको व्यवहार परिवर्तित हुनसकेनन् । देश र जनताका, लोकतन्त्रका दुश्मन बने । राजा दरवारबाट जंगल पसेपछि लोकतन्त्रलाई जंगलराज बनाउने काम नेताहरूले गरे । मान्छेले जब विवेक हराउँछ, उसले जे पनि गर्छ । राजनीति र प्रशासनले विवेक हराएपछि कूशासनमात्र हुन्छ, मत्स्य न्याय हुन्छ । मुलुकी बन्दोबस्त बिग्रेको छ । बिगार्ने नेताहरू अझै लोकतन्त्रको डम्फु बजाएर नङ्गा नाचिरहेका छन् । नङ्गा नाचे हजार दाउ, यस्तो चरित्र लोकतन्त्र हुनसक्दैन । नेपाल नैतिकतामा पहिरो गएको नेपाल बन्न पुगेको छ । व्यवस्थामा परिवर्तन आयो, व्यवस्था चलाउनेको चरित्र सुध्रिन सकेन । देश हरेक दृष्टिले कङ्गाल बनिरहेछ । असफल राष्ट्र बनिरहेको छ ।
असफल राष्ट्र भीरबाट पहिरो जानबाट बचाउनका लागि समेत जनता जाग्नुपर्ने भयो ।

 

footer