kumari
stcnepal

प्रधानमन्त्री ओलीको मन्त्री र सचिवहरूलाई आगामी तीन महिना भित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न पनि निर्देशन दिएका छन् । बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने प्रधानमन्त्रीको भनाइ छ । ‘हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ’, प्रधानमन्त्रीले भने, ‘यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।’

उनले सरकारको लक्ष्य निर्धारण काल्पनिक हुन नहुने पनि बताए । ‘लक्ष्य निर्धारण वस्तुगत होस् । पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरू नै कमजोर राखिनु हुन्न’, उनले भने, ‘हामीले कठिन मेहनतका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ । अबका तीन महिनामा इतिहासका अरू कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ । धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।’ प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिनुपर्ने बताए ।

एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका थिए ।

footer