kumari
stcnepal

आज अमेरिकी उपविदेशमन्त्री रिचार्ड नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपाल स्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ । अमेरिका स्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मा सहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जा लगायतका क्षेत्रमा भएको समझदारी लगायतको विषयमा उनले छलफल गर्ने बताइएको छ ।

अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा । अमेरिकी विदेशमन्त्री एंथनी ब्लिकंनले वर्मालाई अगस्त ६ मा युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधि नियुक्त गरेका थिए । उप विदेशमन्त्री वर्मालाई नेपालको जानकार मानिन्छ । अमेरिकी संसदमा फ्लोरिडाका रिपब्लिकन सांसद ब्रायन मस्टलले अमेरिकाले नेपालमा धार्मिक आस्था नभएका नागरिकका लागि वाइडेन प्रशासनले पाँच लाख अमेरिकी डलर खर्च गरेको दाबी गरेका थिए । त्यसको खण्डन विदेश मन्त्रालयका उप विदेशमन्त्री वर्माले गरेका थिए । त्यसबेला उनको निकै चर्चा भएको थियो । उनले अमेरिका कुनै पनि धर्मका लागि अनुदान वा कुनै प्रकारको सहयोग गरेको नगरेको दाबी गरेका थिए । उनले अमेरिकाको त्यस्तो कुनै नीति नै छैन भनेका थिए ।

नेपालको एक दिने भ्रमण सकाएर उनी भोली शनिवार भारतका लागि प्रस्थान गर्ने बताइएको छ । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भारत भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्कले पनि भारत भ्रमणमा रहने बताइएको छ । अमेरिकी आर्मीमा समेत काम गरिसकेका उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् ।

 

footer