kumari
stcnepal

थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनिन्

काठमाडौं । ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्‍यो । सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए । पेतोङत्रान भने सबभन्दा कम उमेरकी थाइ प्रधानमन्त्री समेत भएकी छन् ।

२००१ मा पहिलो पटक थाइल्याण्डको प्रधानमन्त्री भएका थाक्सिनले देशको राजनीति हल्लाएका थिए । सन् २००६ मा सेनाले शासन सत्ता हातमा लिएपछि उनले केही वर्ष निर्वासनमा बिताए । उनी गत वर्षमात्र देशमा फर्किएका थिए, जुन दिन फेउ थाई दलले सरकार बनाएको थियो । गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो । तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोके । दोस्रो दल फेउ थाइले अरु दलहरुसँग गठबन्धन गरेर थबिसिनलाई प्रधानमन्त्री बनायो । वर्ष दिन नपुग्दै एक मन्त्रीको नियुक्तिलाई लिएर संवैधानिक अदालतले उनलाई बर्खास्त गर्‍यो । स्रेथा थबिसिनको बर्खास्ती सेना, राजा समर्थित प्रतिष्ठान र थाक्सिन समर्थित दलको बीचमा लामो समयदेखि चलिरहेको लडाईँको नयाँ अध्याय थियो ।

नयाँ प्रधानमन्त्री चुन्न सत्ता गठबन्धनका दलहरुको बैठक बसेको थियो । तर १० मध्ये कुनै पनि दलले दाबी नगरेपछि फेउ थाइले थाक्सिनकी छोरीलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो ।सत्ता गठबन्धनसँग ३१४ सांसद छन्, सिनावात्राले बहुमतका लागि ४९३ सांसदको आधाभन्दा बढीको समर्थन जुटाउनुपर्छ ।तीन वर्षअघि राजनीतिमा आउनुअघि पेतोङत्रानले परिवारको व्यापारिक साम्राज्यको होटल शाखा हेर्थिन् । उनले कहिल्यै निर्वाचित पद सम्हालेकी छैनन् ।गत वर्ष चुनावी अभियानमा निरन्तर सहभागी भएपछि उनलाई प्रधानमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो । तर मतदानको दुई साता अगाडि आमा बनेकी थिइन् ।

footer