kumari
stcnepal

टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटक माथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । गत वर्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लगाएको यो प्रतिबन्ध करिब १० महिनापछि हट्ने सम्भावना देखिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री ओलीको चासो र निर्देशनमा प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढाइएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग यस विषयमा छलफल गर्नुभएको बताइएको छ । प्रक्रियागत रूपमा सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गर्नेछ । त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

सरकारको यो कदमले टिकटक प्रयोगकर्ताहरूमा उत्साह ल्याएको छ । टिकटक नेपालमा मनोरञ्जनको लोकप्रिय माध्यम बनेको थियो । तर, टिकटकको प्रयोगले समाजमा नकारात्मक असर पुर्‍याएको भन्दै प्रचण्ड सरकारले २०८० कात्तिक २७ गते यसमाथि प्रतिबन्ध लगाएको थियो ।प्रतिबन्धपछि टिकटकले आफ्ना उच्च तहका अधिकारीलाई नेपाल पठाएर र राजनीतिक भेटवार्ता गरेर प्रतिबन्ध हटाउन प्रयास गरेको थियो । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दायर भएपनि अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

footer