kumari
stcnepal

सिन्धुलीमा हाइलक्स गाडी सुनकोशीमा खस्यो, ३ जना वेपता

काठमाडौँ । सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुडुलेमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले जानकारी दिए । उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको फुयालले जानकारी दिए । फुयालका अनुसार गाडी भेटिए पनि बेपत्ता ३ जनाको खोजी कार्य जारी रहेको छ ।

गाडी मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको फुयालले जानकारी दिए ।

footer