kumari
stcnepal

अब राष्ट्रिय परिचयपत्र आफैले प्रिन्ट गर्न सकिने

राष्ट्रिय परिचयत्र अब सर्वसाधारण आफैँले प्रिन्ट गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि यस्तो सुविधा दिएको हो । पञ्जीकरण विभागको वेबसाइटमा गई नागरिकता नम्बर तथा जन्ममिति राखेपछि परिचयपत्र हेर्न सकिने र सर्वसाधारणले आवश्यकताअनुसार सामान्य कागजमा आफैँ प्रिन्ट गर्न मिल्ने प्रणाली बनाएको छ । ‘अब परिचयपत्र प्रणालीमा इनरोल भएर नम्बर हराएकाहरूले पनि यहीँबाट आफ्नो नम्बर प्राप्त गर्न सक्नेछन्,’ विभागका महानिर्देशक युवराज कटेलले भने, ‘साथै परिचयपत्र पनि आफैँ प्रिन्ट गर्न मिल्ने बनाइएको छ ।’

क्युआर कोडमार्फतसमेत सो वेबसाइटमा जान मिल्ने गरी विभागले आइतबार परिपत्र गर्नका लागि सूचना प्रकाशित गरेको छ । महानिर्देशक कटेलका अनुसार दुई सातापछि क्युआर कोडसहितकै परिचयपत्र सर्वसाधारण आफैँले प्रिन्ट गर्न मिल्ने गरी प्रणाली बनाउन लागिएको छ । चिपसहितको कार्ड छाप्न समय लाग्ने भएकाले यसरी सामान्य कागजमा कार्ड छाप्न मिल्ने सुविधा विभागले सुरु गरेको हो । हालसम्म विभागले करिब ५० लाख कार्ड छापेको छ । त्यसमध्ये सर्वसाधारणले १० लाख मात्र लिएका छन् । राहदानी बनाउनबाहेक अन्य सरकारी सेवाका लागि परिचयपत्र नम्बर अनिवार्य गरिएको छैन । जसकारण धेरै सर्वसाधारण कार्ड लिन गएका छैनन् । सरकारले अन्य सेवामा पनि परिचयपत्र नम्बर अनिवार्य गर्दै लैजाने भएकाले कार्डसम्बन्धी सेवा सरल बनाउँदै लगेको छ ।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सट्टासमेत राष्ट्रिय परिचयपत्र नै दखाउँदा हुने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबिच गत साता समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । सोहीअनुसार ट्राफिक प्रहरीले पनि क्युआरमार्फत राष्ट्रिय परिचयपत्र स्क्यान गरेर लाइसेन्स भए÷नभएको जाँच गर्ने प्रणाली कार्यान्वयन गर्ने तयारी गरेको छ । सामान्य कागजमा प्रिन्ट गरिएको परिचयपत्रबाटै यस्तो स्क्यान हुनेछ । जाँचका लागि प्रदेशका यातायात मन्त्रालयमार्फत ट्राफिक प्रहरीलाई मोबाइलजस्तै क्युआर रिडर खरिद गरी वितरण गर्ने समझदारी भएको छ ।

footer