kumari
stcnepal

मृत राजनीति कसरी लोकतन्त्र हुनसक्छ ?

 

राजन कार्की

राजनीतिले समाज बदल्न सकेन । राजनीति अपराधिकरण भयो । राजनीति व्यवसाय बन्यो । राजनीति सत्ता, सम्पत्ति र शक्ति आर्जन गर्ने र दुरुपयोग गर्ने साधन बन्यो । यही कारण नेतृत्व असक्षम भयो । व्यवस्था बदलिए पनि अवस्था बदलिएन । अवस्था झन झन दुरावस्थामा पुग्दा राष्ट्र अस्तित्वको संकटमा फस्न पुग्यो । कूटनीति असंलग्न थियो, रहेन । असंलग्न नहुँदा भूराजनीतिक भूमरीमा परेर राष्ट्र झन झन संकटमा फस्दै गएको छ ।
पुर्षाको वीरताले निर्माण गरेको यो मुलुक । इतिहास शिक्षा पनि थियो । हाम्रा नेतृत्वपंक्तिले इतिहासबाट शिक्षा लिएनन्, आफैलाई इतिहासको कलंक बनाए । वीरताको इतिहास मटियामेट भयो ।
यी नेताहरुले बुझ्ुपर्ने थियो, हिटलरभन्दा शक्तिशाली को थियो ? उसको अन्त्य आत्महत्याबाट भयो । समय कति बलवान हुनेरहेछ, समय छँदै नेतृत्व सच्चियो भने पछि पुर्पुरोमा हात राखेर पछुताउनु पर्ने छैन ।
२०५२ साल फागुन १ गतेदेखि २०६२ साल मंसिर ५ गतेसम्म जनयुद्ध चल्यो, जनयुद्धकालको समय हिटलरको बलबती समयभन्दा कम थिएन । १८ वर्षपछि देखियो, नेतृत्व मैन पग्लेजसरी पग्लिएर शिखरबाट भुइँमा झरिसकेका छन् ।
जनयुद्धकालको त्यो समयमा कति मारिए, कति बिधुवा भए, कति अपाङ्ग बने, कतिले सहारा गुमाए, कति बेसहारा भए, बितण्डताको बिनासलीला भनिसाध्ये छैन । यो घाउ लोकतन्त्रले झन कोतरेकाले निको नहुने घाउ हो । यतिबेला संक्रमणकालीन न्यायको खुब चर्चा छ । तर पीडितहरुले आशंका गरेका छन्, राजनीतिले यहाँ पनि जनतालाई झुक्याउने प्रपञ्च गरेका छन् ।
यसकारण त मानवाधिकारवादीहरुले समेत पीडकको दण्ड घटाउन सकिएला, उन्मुक्ति दिइयो भने यो ज्वालाले बंगलादेशको भन्दा ठूलो आँधी आउनसक्ने भनिरहेका छन् । त्यसै पनि नेतृत्व र पद्धतिप्रति युवा समुदाय सडकमा आक्रोशसहितको बिद्रोह फुक्न थालिसकेका छन् ।
कुनियतले सत्ता चलाउँदा राजनीति हाँक्दा अनेक प्रश्न जन्मिएका छन् । राजनीतिमा धर्म हुन्छ कि हुन्न ? इमान चाहिन्छ कि चाहिन्न ? के राजनीतिक दलका नेताहरूले आफ्ना प्रतिवद्धताहरूमाथि आफैले केरमेट गर्न सुहाउँछ ? राजनीतिक दलका नेताहरू संवेदनहीन हुनसक्छन् ? घटनाक्रमले राजनीतिक नेताहरूलाई माफियाका साझेदार बनाइसकेको छ ।संवेदनाहीन, व्यापारी प्रमाणित गरेको छ । बेइमानी ठह¥याएको छ । बेइमानी राजनीतिले लोकतन्त्र हाँकेर पुग्ने लथालिङ्ग अवस्थामै हो । नेपालको कानुनव्यवस्था, जनजीवन, शासनपद्धति लथालिङ्ग, भताभुङ्ग हुनपुगेको छ ।
जनयुद्ध हिंसा थिएन भने क्रान्ति थियो भने समाज बदलिनुपथ्र्यो । जनजीवन जनस्तर बढ्नुपथ्र्यो, नेतृत्वप्रति जनताको विश्वास उठ्नुपथ्र्यो । देशमा विश्वासको संकट महामारीको रुपमा बढेको छ । जनयुद्ध र जनआन्दोलन भारतमा रोपियो, सिंहदरवारमा फुल्यो र सडकमा झ¥यो । सत्य यही हो ।
नयाँ नेपाल बनाउने जनयुद्ध र जनआन्दोलन समयक्रमले सत्ताको ब्रम्हनालमा लम्पसार परेको छ । सर्वहारावाद, समाजवाद, लोकवाद सबै सत्ताको गल्लीमा ‘बरेलीकी बजारमे झुम्का गिरा रे’ गीतमा झुमिरहेको देखिन्छ । जो आफै सत्ता, शक्ति र सम्पत्तिको नशामा बेहास छ, उसले देश कसरी बनाउन सक्छ ?
नयाँ नेपाल नेताहरूको मुहारमा मात्र झुल्क्यो । गणतन्त्र नेपाली जनताका लागि एउटा कोतपर्वपछि जन्मिएको अर्को जंगबहादुरको राणाशाहीभन्दा भिन्न अर्थमा बुझ्न सकिन्न । जन–जनको प्रश्न छ– के यस्तै हुन्छ गणतन्त्र नेपाल ? लोकतन्त्र ?
राजनीतिले व्यवस्थापन होइन, तिक्तपन बढाइरहेको छ । निर्णायक तत्वहरूले समस्याका जमरा आफ्नै छातीमा उमारिरहेका छन् । जुँगा मुसार्ने, बाहुला सुर्कने, तिघ्रा ठटाउने गरेपछि मल्लयुद्ध त हुन्छ–हुन्छ । अराजकता त फैलिन्छ फैलिन्छ । सुशासन त हुँदैन हुँदैन । अहंकारी मल्लयुद्ध राजनीतिको महारोग बन्नपुग्यो । पटक पटकको सहयात्रा छिन्नभिन्न हुनपग्यो ।
नेतृत्वलाई आफू असक्षम भएको हेक्कै रहेन । हुनैपर्ने थियो, परम्परागत शक्तिसँग सहकार्य । जुन हुनेसकेन । कुनै पनि बाधा अड्काउ नहुँदासमेत राजनीतिक स्थिरता, शान्ति, समृद्धिको श्रीगणेश भएन कारण एउटै थियो, सबैभन्दा लोकप्रिय शक्तिलाई किनारा लगाएर बाहुबली तन्त्र चलाउनु, यसैलाई लोकतन्त्र हो भनेर भ्रम छर्नु । पार्टीहरु एउटा दक्षिणपन्थी, अर्को उत्तरपन्थी, तेस्रो पश्चिमपन्थी र हरेक पन्थभित्र अतिवादपन्थी । यी अनेक पन्थीहरू स्वार्थका लागि जुनसुकै पन्थी बन्नसक्ने अवसरपन्थीका अनुयायी हुन् । व्यक्ति स्वार्थको राजनीतिक व्यवसायका कारणले देश र जनताको हित स्वाहा भइरहेछ ।
लोकतन्त्र हरेक नेपालीले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ भन्ने सोच व्यवसायी बनेका पार्टीहरूमा उम्रनै सकेन । यही निराशपनमा प्रश्न उठेको छ– लोकतन्त्रको आवरणमा विध्वम्स मच्चाउने आतङ्ककारीको मुटुभित्र मानवीय धड्कन नहुने रहेछ । देशमा अपराध बढेको छ, पीडक छाडा साँढे बनेर डुक्रिरहेका छन् । युवाहरु निराश बनेर जसरी पनि परदेश जानुपर्छ भन्ने मानसिकता बोकेर वैदेशिक रोजगार, अध्ययन, अनेक कारणमा अल्झेर दौडिरहेका छन् ।
कुनै समय नेपोलियन बोनापार्टको अध्याय अहंकारको युग बन्यो, जसको कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो । उनी वीर थिए । उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुमा घँुडा टेक्नुप¥यो । सेन्ट हेलेनाको त्यो टापुमा बन्दी जीवन बिताउनु परेपछि उनले छोरालाई चिठी लेखे– छोरा, समयलाई चिनेर अघि बढ्नु ।
यो शिक्षा राजनीति गर्ने सबैका लागि उपयोगी थियो । तर नेपाली नेताहरु राजनीतिमा हुनैपर्ने यो शिक्षा लिन चुकेका छन् । उनीहरु जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मानसिकता पालेर राजनीतिका नाममा अपराध साम्राज्य चलाइरहेका छन् ।
वामपन्थीका लागि खु्रस्चेव अर्का उदाहरण हुन् । उनले जनताको भावनामाथि खेलबाड गर्दा नूनखानीमा लखेटिनु प¥यो । महासर्वसत्तावादी स्टालिन आफ्ना तीनजना अति विश्वासपात्रको हातबाट मारिनुपर्यो । जनादेशबाट उठेर पनि मानवताको इतिहासमा कलंकित व्यक्तित्व बनेका हिटलरले आत्महत्या गर्नुप¥यो । विरोधीको टाउको काटेर फुटबल खेल्ने र विरोधीको मुटु कलेजोको भुटुवा बनाएर जिब्रो फट्कारी–फट्कारी स्वादले खाने इदी अमीन जनताबाट डराएर बच्दै जंगलभित्र भाग्नुप¥यो । रोमनियाका शासक चाउचेस्कु जसको दरवारमा बाथरूमको कमोठसमेत सूनको थियो । त्यस्ता सौखिन, सामन्तलाई जनताले दरवारको बार्दलीबाट फ्याँकीदिए । चाउचेस्कुलाई जनताको भीडले कति टुक्रा पारे, गन्ति गर्न सकिएन । जनता आक्रोसित भएपछि आँखा देख्दैनन् भन्ने उदाहरण हुन् यी । यस्तै उदाहरण अफगानिस्तानमा देखियो, श्रीलंकापछि बंगलादेशमा देखियो । नेपालमा पनि जनआक्रोशको हावा चल्न थालिसकेको छ, आँधी बन्नसक्छ । नेताहरुलाई खबरदारी गर्न युवा सडकमा निस्कनु भनेको नेतृत्वपद्धति असफल भयो भन्ने हो । तर बाहुबली नेतृत्व समयलाई बुझ्दैनन् ।
हाम्रा शासक बनेका बर्ग जनयुद्ध र जनआन्दोलनको आगोबाट निस्केका हिरा थिए । यिनलाई किरा बन्न १८ वर्ष पनि लागेन । यी कोहिनुर हिरा थिए, लामकिरा बनेर देश र जनतालाई टल्काउनुको साटो डसिरहेका छन् । जनताका लागि आफूले पालेको कुकुरले आफैलाई टोक्छ भनेको यही हो । नेपाल र नेपालीका लागि हामी आवश्यक छौं भनेर कुनै नेताले प्रमाणित गर्न सकेनन् ।
नेता भनेपछि आमनागरिकमा घृणामात्र देखिन्छ । जन–सम्मान आर्जन गर्नुपर्छ भन्ने कुनै नेतालाई लागेकै छैन । नेपाली राजनीतिक वर्णपटमा सत्य सावित भयो महाभारत– आचरण नष्ट हुनु भनेको आफै नष्ट हुनु हो । राजनीतिक जीवनमा अपराध पस्यो भने उसको जीवन नष्ट समान हो । जो आफै नष्ट छ, उसले समाजलाई के दिन्छ ? हाम्रा नेताहरु कायरको राजनीति गरिरहेका छन् ।
कायर नेतृत्व भनेको पलपलको मृत्यु हो । मृत्यु राजनीति कसरी लोकतन्त्र हुनसक्छ ?
नेपाल र नेपालीको दुर्भाग्य, मृत राजनीतिलाई जाल झेल, षडयन्त्र गरेर शक्तिशाली बनेका नेताहरु यही मृत राजनीतिले शान्ति र समृद्धि ल्याउँछ भन्ने भ्रम छरिरहेका छन् । तिनको आरती उतार्ने कार्यकर्ता पंक्ति ताली र झ्याली एक्कैपल्ट बजाइरहेका छन् ।

footer