kumari
stcnepal

सुडानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौ । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिएका छन् । केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उनले अहिले पदबाट राजीनामा दिएका हुन् । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उनको राजीनामा आएको हो ।

प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका थिए । प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि उनको राजीनामा आएको बीबीसीले जनाएको छ । सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ ।

प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया जनाएका छन् । देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उनको भनाइ रहेको छ । गएको अक्टोबर महिनामा सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री ह्यामदक केही समय पछि पुनः प्रधानमन्त्री बनेका थिए ।

सेनाले अपदस्थ गरे पछि ह्यामदकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए ।

footer