kumari
stcnepal

जोखिमको वेवास्ता गर्दा महामारी

 

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरससँग नेपाली जनताले पनि झण्डै दुई वर्ष संघर्ष गरिसकेको छ । यसबीच केही समय यता भाइरसको न्यूनीकरण हुँदै आएको भएपनि राजनीतिक दलहरुको लापरबाहीका कारण कोरोना भाइरसको सक्रमण पुनः महामारीको रुपमा फैलिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्याँक अनुसार एकै दिन नेपालमा ९ सय ४४ जना कोरोना भाइरसबाट संक्रमित बन्न पुगे । कोरोना संक्रमण बढ्नुमा राजनीतिक दलहरु दोषी छन् ।
नेकपा माओवादी केन्द्रले हालै आफ्नो ८ औं महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनमा भाइरस संक्रमणको खतरालाई ख्याल नगर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
दुवै नेताले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । स्वास्थ्यमा केही समस्या देखिएपछि प्रचण्डले शुक्रबार बेलुकी कोरोना परीक्षण गरेको निजी सचिवालयले जनाएको छ । प्रचण्डको निजी सचिवालयमा कार्यरत केहीलाई पनि कोरोना संक्रमण भएको छ ।
अर्का नेता श्रेष्ठका अनुसार असहज महसूस भएपछि उनी बिहीबार पाँचदलीय समन्वय समितिको बैठकमा गएका थिएनन् । टाउको र जीउ दुख्नुका साथै रुघा लाग्ने लक्षण देखिएपछि शुक्रबार परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए ।
माओवादी केन्द्रले पुस १० देखि १८ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । देशभरबाट जम्मा भएका करीब १७०० नेता कार्यकर्ता ८ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्ने जस्ता समस्या देखिएको थियो ।
त्यसका बाबजूद माओवादी केन्द्रले १९ गते केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राख्यो । त्यसपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बधाई लिने भेटघाटमा व्यस्त रहे । बिहीबार पनि उनी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए ।
त्यही दिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भयो । शनिबार संक्रमितहरुको सूचीमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ पनि थपिएका छन् ।
माओवादीका एक नेता भन्छन्,‘हाम्रो भेटघाटहरु कोरोना बम जस्तै भए । अरु थुप्रैलाई संक्रमण भएको हुनसक्छ ।’ भेटघाटका क्रममा मास्क लगाएकाहरुले समेत बधाई दिने क्रममा हात मिलाउने र तस्वीर खिच्ने नाममा मास्क खोस्ने गरेको उनले सुनाए ।

footer