kumari
stcnepal

अस्पतालको लापरवाहीले पत्रकार विश्वकर्माको निधन: पत्रकार महासंघको ठहर

काठमाडौं । नेपाल पत्रकार महासंघले अस्पतालको लापरवाहीकै कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको निष्कर्ष निकालेको छ । महासंघका केन्द्रीय सदस्य एवम् अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले हिजो शुक्रवार  महासंघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण रहेको औंल्याएका छन् ।

महासंघले पाटन अस्पतालसमेत संवेदनशील अवस्थामा अस्पताल पु¥याइएका बिरामीलाई गम्भीरतापुर्वक लिएर उपचार नगरेको ठम्याएको छ । महासंघले उनको निधनलाई सरकारी स्वामित्वका अस्पतालमै सेवाग्राहीमैत्री सुविधा नहुनुको परिणाम भएको जनाएको छ ।

‘स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो । तर, अरुको अधिकारकोलागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद हो,’ महासंघले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हो ।’

महासंघले सरकारी अस्पतालको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको भन्दै उनको परिवारलाई उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेको छ । मृतक परिवारलाई महासंघले ५० हजार रुपैयाँ राहतको घोषणा गर्दै विश्वकर्माका श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र साढे ३ वर्षको छोराको उच्च शिक्षासम्मको जिम्मेवारी उनी कार्यरत रहेको सञ्चार गृह र सरकारले लिनुपर्ने बताएको छ ।

महासंघले सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरुको निःशुल्क उपचार हुने भनी घोषणा गरेपनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको बताएको छ । ‘घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकालागि महासंघ सरकारसँग आग्रह गर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

अछाम घर भई काठमाडौंमा कार्यरत विश्वकर्मा टिभी टुडेमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत थिए । सुरुमा कोभिडको लक्षण देखिए पनि आर्थिक अभावका कारण परीक्षण नगरी घरेलु उपचार गरेका उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल पुग्दा उपचारमा संलग्न चिकित्सकले कोभिडको शंकास्पद बिरामीको रुपमा लिएका थिए । तर, उनीसँग उपचार गराउने आर्थिक अभाव भएको बुझेपछि सिभिल अस्पतालले उपचारमा लापरवाही गरेको महासंघको ठहर छ । सिभिलपछि उनलाई उपचारका लागि पाटन पुर्याइएको थियो । माघ ६ गते विहान उपचारकै क्रममा पाटन अस्पतालमा विश्वकर्माको निधन भएको थियो ।

footer