kumari
stcnepal

नाङ्गो ब्रम्हलुट भयो : थापा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रका नाममा देशमा लुटतन्त्र चलिरहेको बताएका छन् । पार्टीले सञ्चालन गरेको दोस्रो चरणको चारदिने हिन्दु जागरण स्वाभिमान यात्राको २७ गते गोरखामा समापन गर्दै त्यस्तो बताएका हुन् । अध्यक्ष थापाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारको पालामा भ्रष्टाचार बढेको भन्दै त्यस्तो बयान गरेर साध्य नभएको उद्घोष समेत गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने अनेक बहानामा भ्रष्टाचारै भ्रष्टाचार भइरहेको छ । वाइडवडी जहाज खरिद काण्ड होस् वा एनसेल कर छली काण्ड होस् त्यसमा अबौं भ्रष्टाचार भएको उनले बताएका थिए । ३८ किलो सुन तस्करी भयो केही व्यक्ति पक्राउ परेपनि तस्करी भएको सुन आजसम्म फेला पर्न सकेन भन्दै तस्करी काण्डको सही रुपमा छानविननै नगरिएको थापाको आरोप थियो ।

प्रधानमन्त्री निवास बालुवाटारको जग्गा भू–माफियाहरुले कब्जा गरे । भू–माफियाहरुसँग सत्ताधारी पार्टीकै नेताहरु मिलेर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ । पूर्व सचिव शारदाप्रसाद त्रिताल आयोगले दिएको प्रतिवेदनलाई हेर्ने हो भने इतिहासमै नभएको भ्रष्टाचार र नाङ्गो लुट भई रहेको भएपनि सत्ताधारी पार्टीकै नेता जग्गा काण्डमा मुछिएपछि सरकारले जग्गा काण्डमा संलग्न भएकाहरुलाई कुनै कारबाही गर्न नसकेको आरोप लगाउँदै स्वयम् प्रधानमन्त्रीलेनै पार्टीका महासचिव विष्णु पौडेल बालुवाटार ललिता निवास जग्गा काण्डमा निर्दोष रहेको अभिव्यक्ति दिएकाले प्रधानमन्त्री आफैँ न्यायाधिस हुन खोजेको आरोप समेत लगाएका छन् ।

सत्ताधारी दलमात्र नभएर प्रमुख प्रतिपक्षी दल समेत भ्रष्टाचार काण्डमा मिलेमतो गरिरहेको अध्यक्ष थापाको आरोप रहेको थियो । हिन्दु धर्म र संस्कृतिमाथि भइरहेको आक्रमण अब नेपाली जनतालाई सह्य नहुने भन्दै हिन्दु संस्कृति बचाउनका लागि सबै नेपाली एकजुट भएर धर्म संस्कृति बचाउन लाग्नु पर्नेमा उनले जोड दिएका थिए ।

नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि सनातन धर्ममाथि व्यापक रुपमा आक्रमण भइरहेको भएपनि त्यसलाई रोक्न सरकार असफल भएको भन्दै केही पश्चिमा मुलुकहरु समेतको सहयोगमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको उनले बताएका थिए । पछिल्लो समयमा सहयोगको नाममा दुर्गममा मात्र नभएर उपत्यकाभित्रै हिन्दु धर्मावलम्बीहरुलाई जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै अब त्यसका विरुद्ध जनता नै सडकमा आउनु पर्ने बेला आएको अध्यक्ष थापाको कथन रहेको थियो । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार निर्माण भएपछि अझ व्यापक रुपमा धर्म परिवर्तन गराउने कार्यले व्यापकता पाएकोमा अध्यक्ष थापाले आक्रोश समेत पोखेका थिए ।

समापन समारोहमा पार्टीका वरिष्ठ नेताहरुले समेत सम्बोधन गर्दै मुलुकलाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने भन्दै त्यसका लागि राप्रपाले अगुवाई गर्ने बताएका थिए । मुस्ताङबाट जेष्ठ २५ गते सुरु गरिएको हिन्दु जागरण स्वाभिमान यात्रा गोरखामा पुगेर ५ दिन पछि समापन भएको थियो । त्यस अवसरमा राप्रपाले विभिन्न जिल्लामा झण्डै २०÷२५ वटा सभा समेत गरेको थियो ।

footer