kumari
stcnepal

एकीकृत समाजवादी पार्टीले एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न दिने निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न बाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीको बारेमा पार्टीको १२ औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो । सो कार्यदलले १४ औँ बैठकमा एमसीसीबारे रिपोर्ट प्रस्तुत गरेको थियो । सोही रिपोर्ट बारे खनालले विवरण प्रस्तुत गरेका थिए । आजको बैठकमा २५ सदस्यले धारणा राखेका थिए ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् । यही बीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसी बारे निर्णय गर्न समय माग गरेको थियो ।

 

footer