kumari
stcnepal

नेपाल सरकारले अमेरिकी र चीन सरकारलाई दियो एसीसी बारेको जवाफ

नेपाललाई लिएर अमेरिका र चीन बीच वाकयुद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो ।

‘हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ ।’

नेपाल र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर विभिन्न धारणाहरू सार्वजनिक भएपछि परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको लाइन स्पष्ट पारेको हो । ‘नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीति अनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

नेपालको विकास र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको परराष्ट्रले जनाएको छ । परम्परागत रूपमा बलियो साझेदारी र सहयोगको साथ साथै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने संयुक्त राष्ट्र संघ लगायत क्षेत्रीय र बहुपक्षीय विकास साझेदारहरूप्रति परराष्ट्रले कृतज्ञता प्रकट गरेको छ ।

‘हामी हाम्रा मित्रहरुबाट निरन्तर सद्भावको आशा गर्दछौ,’ परराष्ट्रले भनेको छ । पछिल्ला दिन नेपाल र एमसीसीलाई लिएर अमेरिका र चीनबीच भनाभन चलेको थियो ।

अमेरिकाले एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण त्यस्तो भएको भन्ने बुझ्ने बताएको थियो । त्यसपछि चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपाल माथि ‘धम्कीपूर्ण कूटनीति’ अपनाएको आरोप लगाएको थियो । अमेरिका र चीनबीच भनाभन् सुरु भएपछि नेपालले आइतबार विज्ञप्ति जारी गरी दुवै देशलाई जवाफ दिएको हो ।

 

footer