kumari
stcnepal

राजसंस्थाको नाममा सरकार र दलको ब्रम्हलुट

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको नेताहरुले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको चाहनानुसार काम गर्न नसकेपछि सरकारको असफलता र अकर्मण्यता लुकाउनका लागि अनेक प्रकारका बहाना खोजि गरिरहेको छ । स्वयम् प्रधानमन्त्रीले नै संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रहार हुन थालेको भन्दै त्यसका विरुद्ध एक हुन हालै संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता पाएका दलहरुको सर्वदलीय बैठक नै बोलाएका थिए । उक्त बैठकमा संघीय संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने सरकारले जनताको चाहनानुसार काम गर्न नसकेको हुनाले व्यवस्थाका विरुद्ध होइन सरकारका विरुद्ध जनता आक्रोशित भएको भनाई सर्वदलीय बैठकमा राखेको थियो ।

कांग्रेसको त्यो भनाईलाई समेत जनताले पत्याउन सकेका छैनन् । प्रमुख प्रतिपक्षी दलले सरकारका काम कारबाहीका बारेमा जनतालाई जानकारी गराउन नसकेको र संसदमा समेत प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै जनता कांग्रेसप्रति समेत आक्रोशित भएका छन् ।

गत असारदेखि बस्दै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अस्तिमात्र सम्पन्न भएको छ । केन्द्रीय समितिले गरेका निर्णयहरुका बारेमा कांग्रेसले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । उसले सरकारले सम्वैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई निस्तेज पार्ने प्रयासमा सरकार लागेको हुनाले सरकारको त्यस्तो प्रवृत्ति नसच्चिएको खण्डमा सरकारका विरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतले पत्रकार सम्मेलनमा भने सरकारको स्वच्छाचारिता विरुद्ध पार्टी संघर्षमा उत्रिनेछ भन्दै जनताले कांग्रेसको सशक्त भूमिकाको अपेक्षा गरेका हुनाले कांग्रेसले अब संसद र संसदबाहिर अझ शसक्त भूमिकाको सक्रिय हुने प्रतिवद्धता जनाएको बताएका छन् । कांग्रेसको ठहरमा सरकारको डेढ वर्षे कार्यकालमा जनतालाई सरकारले पुरै निराश बनाएको संस्थागत भ्रष्टाचार, राज्य संरचनाको दुरुपयोग र सरकारी संयन्त्रलाई राजनीतिकरण गरेको, महंगी, हिंसा, हत्या, बलात्कार, असुरक्षा भएको भन्दै त्यसका विरुद्ध कांग्रेस आन्दोलनमा जान बाध्य हुने ठहर कांग्रेसले गरेको छ ।

पछिल्लो समयमा ठुलो संख्यामा मानिसहरु चितवनमा भेला भएर आक्रोश पोखेपनि सरकार र राजनीतिक दलका आँखा अझै खुलन सकेका छैनन् । एउटा व्यक्तिका पछाडि किन त्यति धेरै मान्छे जम्मा भएर सरकार विरुद्ध आक्रोश पोखे के त्यो आक्रोश सरकार विरुद्धमात्र थियो त ? कि राजनीतिक दलहरुका विरुद्ध पनि थियो अब त्यसको लेखाजोखा हुनुपर्दछ ।

एउटा व्यक्तिको समर्थनमा त्यति धेरै मान्छे भेला भएर ४÷५ दिन लगातार आक्रोश पोखेको नेपालको इतिहासमै सायद त्यो पहिलो होला । त्यति हुँदा पनि सरकार र राजनीतिक दलका नेताहरुको आँखा खुल्न नसक्ने हो भने अर्को दुर्घटना हुनसक्छ । प्रमुख प्रतिपक्षी दलले चितवनको आक्रोश सरकारमाथिको मात्र हो भन्नु आफूलाई पानी माथिको ओभानु बन्न खोज्नु बाहेक अन्य केही हुन सक्दैन ।

पछिल्लो समयमा सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीभित्र राजतन्त्र फर्कन सक्ने विषयलाई लिएर भित्रभित्रै गम्भीर बहस र छलफल हुनथालेको छ । सोही क्रममा कतिपय नेताहरुले चिहानमा गाडेको हड्डी सल्वलाएर केही नहुने अभिव्यक्ति समेत दिएका छन् । तर उनीहरु भित्र भित्रै राजतन्त्र फर्कने हो कि भन्दै भित्रभित्रै आतंकित भएका छन् । सत्ताधारी दलका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई पनि शंका पैदा भएको छ । कतै राजतन्त्र फर्किने त होइन भनेर । नेपाली जनताले यति धेरै राजा पाल्नुभन्दा एउटा राजा पाल्नु नै वेश भन्न थालिसकेको अवस्थामा दलहरुमा आशंका हुन कुनै नौलो विषय होइन ।

राजनीतिक दलहरुको व्यवहार र सरकारको काम गराईबाट जनता आजित भएका छन् । सरकारको काम कारबाहीका विरोध गर्नेहरुलाई प्रतिगामीको उपमा दिने गरिएको छ । जनतालाई दोष लगाउनु भन्दा सरकारले आफ्नो व्यवहार सच्चाएर सरकारले अभिभावकीय भूमिका निभाउनुको सट्टा ऊ एउटा पार्टीको लागि मात्र सरकार भएको जस्तो व्यवहार देखाउन थालेको हुनाले जनता आक्रोशित हुँदै गएका छन् । सरकारले ल्याएका विधेयकहरु प्रायः सबैको विरोध भएको छ ।

गुठी विधेयकको बारेमा त काठमाडौमा उर्लिएको जनसागरले गर्दा सरकार विधेयक फिर्ता लिन बाध्य भयो । आफूलाई राष्ट्रवादी भन्ने सरकारले किन जनताका अधिकार खोस्ने कार्य गर्न उद्दत रहेको छ । राजनीतिक दलका कार्यकर्ताहरु समेत पहिला नेपाली जनता हुन् त्यसपछिमात्र उनीहरु राजनीतिक दलका नेता तथा कार्यकर्ता भएका हुनाले दलका नेता तथा कार्यकर्ताहरुले समेत पहिला स्वतन्त्र नागरिक भएर नागरिकको भूमिका निभाउन सक्नुपर्दछ ।

संविधानले दिएको अधिकार सबैले प्रयोग गर्न पाउनुपर्दछ राज्य सञ्चालनमा प्रयोग भएका कुनैपनि प्रणाली त्यतिबेला असफल हुन्छ त्यो प्रणालीले जनताले अपेक्षा गरेनुसारको काम गर्न सक्दैन । अहिले त्यस्तै अवस्था देखिएको छ । सरकार र राजनीतिक दलहरुलाई पछिल्लो समयमा मनको बाघले खाएको छ बनको बाघले नखाएपनि । उनीहरुलाई मनको बाघले खाइसक्यो । मनगढन्ते कुरा गरेर जनताको ध्यान अर्कोतिर मोड्न सरकार उद्दत देखिएको छ । जनअपेक्षाा अनुसार काम गर्न असफल भएका राजनीतिक दल र सरकारले आफ्नो असफलता र अकर्मण्यतालाई लुकाउनैको लागि राजतन्त्र फर्किन सक्ने हाउगुजी देखाएर जनतालाई लुटिरहेका छन् । यदि त्यसो हो भने हामीले राज्य सञ्चालन गर्न सकेनौं भनेर राजतन्त्र फर्काए भै हाल्यो नि ।

किन राजतन्त्रको हाउगुजी देखाएर दलगत र व्यक्तिगत स्वार्थ पूरा गरिरहने ? हो नेपाली जनताले हेरिसके सयौं राजा पाल्नुभन्दा एउटा राजा पाल्नु नै वेस । संघीयताको नाममा जनताको ढाड भाँच्ने गरी करको बोझ थपिएको छ । वडासदस्य देखि पूर्व विशिष्ठ पदाधिकारीहरु (पूर्वराजा) बाहेकलाई जनताले तिरेको करबाट पाल्नुपरेको छ । यो अवस्थामा जनताको मन राजतन्त्रतर्फ फर्किन सक्छ । जनताको दल र सरकार विरोधी आक्रोशलाई मत्थर पार्न राजतन्त्रको हाउगुजी देखाएर ब्रह्मलुट मच्चाउने कार्य बन्द गरियोस् ।

footer