kumari
stcnepal

एमालेका माग पुरा गर्नुपर्ने भयो, गठवन्धन तोडेरै भएपनि: पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी अनुमोदन गर्नकै लागि प्रचण्ड(माधव नेपालसँग गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृहजिल्ला तनहुँ पुगेर पौडेलले राष्ट्रको अवसर गुमाउने पार्टीहरूसँग टाँसिएर बस्न नसकिने प्रस्टीकरण दिएका छन् ।

कांग्रेस र एमालेका नेताहरूबीच भएको संवादबारे जानकारी गराउँदै पौडेलले भने, ‘प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा वासिङ्टन गएर एमसीसीमा प्रतिबद्धता जनाएर आउनुभएको छ । तपाईंहरूले पटक-पटक सहमति पनि गर्नुभएको छ । एमसीसीबाट कसरी भाग्न मिल्छ भनेर एमालेलाई भनेका छौं ।’

केपी ओलीले एमसीसीमा सहयोग गर्ने तर, त्यसका लागि संसदमा उपस्थित हुने वातावरण बनाइदिनुपर्ने भनेको पौडेलले बताए ।

‘एमसीसीको विरोध गर्दिन, सहयोग गर्छु तर, संसदमा हामी उपस्थित हुने वातावरण नै छैन भनेर ओलीले भनेका छन्,’ तनहुँमा पौडेलले भने, ‘संसदमा एमसीसीको पक्षमा बोल्नको लागि विषयमा प्रवेश गर्ने ठाउँ नै मलाई भएन भन्ने एमालेको कुरो छ । संसदमा उभिएर समर्थन गर्ने ठाउँ बनाइदेउ, म उभिएर समर्थन गर्दिन्छु भनेर केपी ओलीले भनेका छन् ।’

एमालेले कारबाही गरेको भनेको एकीकृत समाजवादीका १४ जना सांसदको कारबाही सदर हुनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राखेर संसद अवरोध गरिरहेको छ ।

सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको समर्थन लिएर एमसीसी पास गर्ने कि केपी ओलीलाई ठाउँ बनाइदिएर एमसीसी पास गर्ने भन्ने निर्णय गर्ने गर्नुपर्ने अन्तिम अवस्थामा कांग्रेस रहेको र यो परिस्थिति प्रचण्ड र नेपाललाई जानकारी पनि गराएको पौडेलले बताएका छन् ।

‘हामीले केपी ओलीको माग पूरा गर्ने कि एमसीसीको माग पूरा गर्ने दुई मध्ये एक गर्नुपर्ने भयो भनेर प्रचण्ड, माधव नेपाल, झलनाथ सबैलाई भनेको छु,’ पौडेलले भने । एमसीसी अनुमोदन गर्नकै लागि गठबन्धन भत्काउनुपर्ने अवस्था आएको पौडेलले बताएका छन् ।

एमसीसी फेल गर्न हुँदैन पास गर्नुपर्छ भन्ने कांग्रेसको धारणा छ । यो परिस्थितिमा प्रचण्ड र माधव नेपालले सपोर्ट गर्ने होइनन्, असहयोग गर्ने र विफल पार्न लाग्ने हो भने यसलाई सफल पार्न लाग्ने हो भने अर्को उपाय सोच्नुपर्‍यो । त्यो भनेको केपी ओलीको माग पूरा गर्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘केपी ओलीको माग पूरा गर्नुपर्ने अवस्थामा जाने नपार भनेर भनेका छौं ।’

 

footer