kumari
stcnepal

समाजवादी र राजपा एकीकरण नहुने

काठमाडौ । संघीय संसदमा राष्ट्रिय दलको मान्यता पाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले लामो समयदेखि एकीकरणका प्रयास गरेपनि उनीहरुबीच तत्काल एकीकरण नहुने प्रायः निश्चित भएको छ । विभिन्न ६ वटा पार्टी मिलेर गठन भएको राजपाभित्र पार्टी नेताहरुका व्यवस्थापन नै एकीकरणका लागि बाधक बनेको एक नेताले बताएका छन् । समाजवादी पार्टीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत रहेका र उपेन्द्र यादव उपप्रधानमन्त्री समेत रहेका हुनाले र वरिष्ठ राजनीतिज्ञ महन्थ ठाकुर राजपाका नेता रहेका हुनाले यी तीन जनाको व्यवस्थापन कसरी गर्ने भन्नेमै विवाद उत्पन्न भएको छ । राजपाले पछिल्लो समयमा पार्टी एकीकरणको कार्यलाई थाती राखेर पार्टीको महाधिवेशन गर्ने तयारीमा जुटेको हुनाले तत्कालै यी दुई पार्टीबीच एकीकरण नहुने भएको हो ।

समाजवादी पार्टी र राजपाको कार्यदिशामै भिन्नता देखिएको छ । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने नीति लिएको छ भने राजपाले संसदबाटै निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेकोले पार्टी एकीकरणमा समस्या देखिएको छ । राजपामा अहिले अध्यक्ष मण्डल रहेको र ६ वटा पार्टी मिलेर गठन भएको राजपामा तिनै ६ पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहने र प्रत्येक दुई दुई महिनामा अध्यक्ष मण्डलको संयोजक फेरिने सिद्धान्त अपनाइएको छ । अध्यक्ष मण्डलमा रहेको ६ जनालाई समाजवादी पार्टीसँग एकीकरण भएपछि उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमै विवाद उत्पन्न भएको छ ।

राजपाका महन्थ ठाकुरलाई अध्यक्ष स्वीकार गर्न समाजवादी पार्टी तयार भएपनि अन्यलाई के गर्ने भन्नेमै अन्यौल रहेकोेले दुवै पार्टी एकीकरणमा विवाद उत्पन्न भएको छ । राजपाका नेता राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवलगायतका नेताहरु रहेकाले उनीहरुमध्येका केही तत्काल पार्टी एकीकरणको पक्षमा नभएको एक नेताले बताएका छन् । दुवै दल मधेशवादी भएपनि पछिल्लो समयमा उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीसँग डा. बाबुराम भट्टराईले पार्टी एकीकरण गरेपछि अहिले समाजवादी पार्टी मुलुकमै ७७ वटै जिल्लामा पुगेको छ भने राजपा ४४ वटा जिल्लामा मात्र पुगेको छ ।

समाजवादी पार्टीले पहाडी जिल्लामा पार्टीको उपस्थिति जनाउन डा. भट्टराईको समर्थन खोजेको थियो । त्यहीकारण यादव र भट्टराईले नेतृत्व गरेका दुवै पार्टी एकीकरण भए । समाजवादी पार्टी अहिले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित सहभागि भएको छ भने राजपाले ओली सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईसकेको हुनाले राजपाले समाजवादी पार्टीलाई सरकार छोड्न दबाब दिँदै आएको भएपनि तत्काल समाजवादी पार्टीले सरकार छोड्न नसक्ने अभिव्यक्ति दिएपछि समाजवादी पार्टी र राजपा एकीकरण हुने सम्भावना अहिलेको लागि टरेको एक नेताले बताएका छन् । उनका अनुसार दुवै पार्टीको सिद्धान्तमा केही फरक परेको र खासगरी नेताहरुका व्यवस्थापन नै एकीकरणका लागि बाधक देखिएकोले अहिले एकीकरण नहुने पक्कापक्की भएको छ ।

footer