kumari
stcnepal

बेलगामको नेताहरुको बोली नै समस्याका बाधक

पछिल्लो समयमा केपी ओली सरकार विवादको घेरामा पर्दै गएको छ । कहिले संसदमा दर्ता गराएका विधेयकका बारेमा त कहिले मन्त्रीहरुले दिने गरेका अभिव्यक्तिका कारण सरकार विवादको घेरामा तानिँदै आएको छ । तर पछिल्लो समयमा ओली सरकार आफ्नो कारणले नभएर सत्ताधारी दलका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहालका भनाईको कारण सरकार विवादको घेरामा तानिएको छ । पुष्पकमल दाहाल विवादास्पद अभिव्यक्ति दिन र झुठ बोल्न माहिर मानिन्छन् । आफ्नो स्वार्थ अनुसार उनी बोल्ने गर्दछन् ।

कहिले भेनेजुवला सम्बन्धी विवादमा उनी पर्छन् भने अहिले चिनियाँ विदेशमन्त्रीसँग भएको भेटमा इन्डो प्यासिफिक रणनीति (आइपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक भएपछि त्यस विषयमा अमेरिकाले औपचारिक रुपमै नेपालसँग धारणा माग गरेको छ । चिनियाँ विदेशमन्त्री नेपालको ३ दिने भ्रमण गरेर स्वदेश फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अध्यक्ष दाहालको भनाई भन्दै उक्त कुरा सार्वजनिक गरिएको छ । चिनियाँ विदेश मन्त्रालयले आफ्ना विदेशमन्त्री वाङयीको नेपाल भ्रमणक्रममा नेपाली अधिकारीहरुसँग भएको छलफलको विवरण आफ्नो वेवसाइटमा चिनियाँ भाषामा राखेपछि त्यस विषयमा अमेरिकाले नेपालको धारणा मागेको हो ।

चिनियाँ विदेश मन्त्रालयले नेपालका अधिकारीहरुसँग भएका छलफल भनेर आफ्नो वेवसाइटमा राखेपनि हाम्रो परराष्ट्र मन्त्रालयले भने छलफलका विषयहरुका बारे कुनै जानकारी दिएको छैन । चीनले नेपालसँग इन्डोप्यासिफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको जानकारी वेवसाइट मार्फत सार्वजनिक गरेको हुनाले अमेरिकाले औपचारिक रुपमा नेपालको धारणा मागेको हो । चीनले आफ्नो वेवसाइटमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग भएका दुई पक्षीय छलफलका विषयहरुलाई अंग्रेजीमा राखिएको छ भने चिनियाँ भाषमा समेत वेवसाइटमा राखिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाका धारणा समेत चिनियाँ भाषामै वेवसाइटमा राखिएको छ । यसरी अध्यक्ष दाहालले दिएको अभिव्यक्तिले गर्दा कतै अमेरिका र नेपाल बीचमा रहँदै आएको सम्बन्ध विग्रने हो कि भन्ने प्रश्न समेत कुटनीतिक क्षेत्रमा उठ्न थालेको छ ।

सत्ताधारी दलका अध्यक्षको धारणालाई सरकारकै अभिव्यक्ति मानिने हुँदा यहाँनेर नेपाल चुकेको जस्तो देखिएको छ । कुनै पूर्व तयारी बेगेरै चिनियाँ विदेशमन्त्रीसँग भेट गर्नुले हाम्रो कुटनीतिक अन्योल र अलमलमै चलेको आरोप लाग्दै आएपनि त्यसलाई सुधार गर्ने क्रममा केही काम हुन सकेको छैन । केही समय पहिला हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएका थिए त्यस बेला मन्त्री ज्ञवालीले इन्डो प्यासिफिक रणनीतिको केन्द्रमा रहेको धारणा सार्वजनिक गरेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले वक्तव्य जारी गरेको थियो । तर अमेरिकी वक्तव्य आएपछि पछि मन्त्री ज्ञवालीले त्यसलाई अस्वीकार गर्दै नेपाल असंलग्न नीतिका पक्षमा रहेको बताएका थिए ।

विश्वका शक्तिशाली मुलुक अमेरिका र उदयमान मुलुक चीन नेपाललाई केन्द्र बनाएर शक्तिको जुहारी चलाइरहेका अवस्थामा हाम्रा नेताहरुको बेलगाम बोलीले सम्बन्धमाथि नै संकट ल्याउन सक्ने अवस्था देखिन्छ । कुटनीतिक क्षेत्रमा के बोल्ने, के नबोल्ने भन्ने विषयमा गहन अध्ययन गरेर बोल्नुपर्नेमा जे पायो त्यही बोल्ने गरेकोमा परराष्ट्र मन्त्रालयका उच्च तहका पदाधिकारीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् भने पूर्व कुटनीतिज्ञहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समयमा दुईछिमेकी मुलुक भारत र चीनका विदेशमन्त्रीहरुले नेपाल भ्रमण गरेका छन् । पहिला भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गरे । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रपति प्रमुख प्रतिपक्षी दलका नेता लगायतलाई भेटेका थिए भने सत्ताधारी दलका अध्यक्ष पुष्पकमल दाहालले भने प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्रीलाई भेट्न अस्वीकार गरेका थिए तर तिनै दाहालले चीनका विदेशमन्त्रीलाई एक होटालमा गएर आधा घण्टासम्म गोप्य भेटघाट गर्नु कुन प्रोटोकल भित्र पर्दछ ? यसरी सत्ताधारी दलकै नेताहरुबाट एक छिमेकी मुलुकलाई चिड्याउने र अर्कोलाई खुसी पार्ने रणनीति लिनु भनेको कुनै हालतमा पनि नेपालको हितमा हुन सक्दैन ।

नेपालको सम्बन्ध र विकासमा चीनको भन्दा भारतको महत्वपूर्ण भूमिकामा भारत रहेकोले भारतलाई चिड्याएर के नेपालको विकास सम्भव होला ? खुल्ला सिमानाका कारण पनि भारत नेपालको महत्वपूर्ण छिमेकी हो फेरी त्यही भारतको सहयोगमा तत्कालिन माओवादीले १० वर्षे जनयुद्ध चलाएर १७ हजार भन्दा बढी नेपाली जनताको ज्यान लिएको थियो भने पुष्पकमल दाहाल लगायतका नेताहरुलाई भारतले नै आश्रय दिएको र उसैको सहयोगमा नेपाललाई गणतान्त्रिक धर्मनिरपेक्ष मुलुक बनाइएको होइन र ? अहिले आएर दाहालको सम्बन्ध भारतसँग विग्रिएकोले उनी चीनतर्फ ढल्किएको एकथरीको भनाई रहेको छ ।

footer