kumari
stcnepal

दलित संघमा उम्मेदवार छनोटको कसरत

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले आकांक्षा राखेका छन् । सभापति देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री, क्षेत्र सिंह टेलर लगायतले अध्यक्षको आकांक्षा राखेका छन् । पूर्व सांसद समेत रहेका पासवान दलित संघको पूर्व उपाध्यक्ष हुन् । मधेसी मूलका पासवान नेता विमलेन्द्र निधि निकट भएका कारण गत मंसिरमा भएको १४औं महाधिवेशनमा देउवा पक्षको केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्न नसकेको उनी निकट एक नेता बताउँछन् ।

अर्घाखाँचीका लोकेन्द्र विक पनि देउवा पक्ष बाट अध्यक्षका आकांक्षी हुन् । उनी नेता मानबहादुर विश्वकर्मा निकट छन् । दलित संघका वर्तमान उपाध्यक्ष रामकृष्ण लकान्द्री अमेरिका बस्छन् । तेह्रथुमका लकान्द्री दलित संघको अध्यक्षमा उम्मेदवार बन्नकै लागि नेपाल आएका छन् । अध्यक्षको आकांक्षी टेलर संघका पूर्व उपाध्यक्ष हुन् । कैलालीका उनी दलित संघमा लामो राजनीति गर्ने तर पार्टीमा अवसर नपाएका व्यक्तिका रुपमा चिनिन्छन् ।

संस्थापन इतर बाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका तनहुँका डोबाटे गण्डकी प्रदेश सरकारका मन्त्री समेत हुन् । संस्थापन इतर समूह बाट अध्यक्षमा दावी गरेका महते दलित संघका पूर्व उपाध्यक्ष हुन् । रामेछापका उनले तत्कालीन जिल्ला विकास समितिमा उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए।

संस्थापन इतर बाट अध्यक्षमा दाबी गर्नेमा काभ्रेका शिव सुनार कांग्रेसका महासमिति सदस्य हुन् । बाँकेका महाधिवेशन प्रतिनिधि कृष्ण विके रसाइली पनि संस्थापन इतर बाट अध्यक्षको दौडमा छन् । दलित संघको राजनीतिमा देउवा पक्षका नेता मीन विश्वकर्मा र कोइराला पक्षका नेता जीवन परियार हाबी हुन्छन् । आफ्नो पक्षका उम्मेदवार टुंगाउन आकांक्षीहरु सहित दुबै पक्षका नेताहरुको बैठक पटक पटक बसेपनि उम्मेदवारको टुंगो भने लागेको छैन ।
आसन्न महाधिवेशनमा आकांक्षीमा संस्थापनबाट शम्भु हजारा पासवान वा लकान्द्री मध्ये एक हुने सम्भावना रहेको नेताहरु बताउँछन् । संस्थापनइतरमा डोबाटे बलियो उम्मेदवार हुन् ।

 

 

 

footer