kumari
stcnepal

स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने, ऋषि कट्टेलको नेकपाले नपाउने

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् ।

निर्वाचनका लागि ८० वटा दलले निवेदन दिएका थिए तर निर्वाचन आयोगको बिहीबार बसेको बैठकले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ ।

ऋषि कट्टेल नेतृत्वको यो दलको अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । आयोग स्रोतका अनुसार, ऋषि कट्टेललाई कारवाही गरेको भन्दै कार्य बाहक अध्यक्ष बनेका लोकनारायण सुवेदीले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका थिए ।

त्यसलगत्तै कट्टेलले आफू आधिकारिक अध्यक्ष भएको र आफूले आयोगमा निवेदन दर्ता नगरेकाले सुवेदीको पत्रले मान्यता पाउन नहुने भनी अर्को निवेदन दिए । तर नेपाल कम्युनिष्ट पार्टीको विधानमा कार्यबाहक अध्यक्षको व्यवस्था नभएको भन्दै आयोगले प्रश्न उठायो । अनि कट्टेल माथि कारवाही गरेको भए त्यसको जानकारी समेत आफूले नपाएको भन्दै निर्वाचन आयोगले कट्टेलकै निवेदनलाई आधिकारिकता दिएको हो ।

आयोगका एक अधिकारीले भने, ‘कट्टेल नै आधिकारिक अध्यक्ष भन्ने देखियो । उहाँले दल दर्ताको निवेदन लिएर आउनुभएन । अनि आएको निवेदन समेत आधिकारिक नभएको बताएपछि त्यो दलले स्थानीय तह निर्वाचनमा आफूलाई दर्ता गरेन, दर्ता नगरेपछि कसरी निर्वाचनमा भाग लिनु ?’

 

 

footer