kumari
stcnepal

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दा राज्यका तीन वटै अंगले काम गर्न सकेनन : एमाले महासचिव पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेका कारण राज्यका तीन वटै अंगले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा उनले संसद पुनर्स्थापना भएपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कुनै अंगले पनि काम गर्न नसकेको बताएका हुन् । ‘विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरे पछिको अवस्था हेर्नुहोस त ? अदालत अदालत जस्तो छैन । सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन’ उनले थपे, ‘राज्यका तीन अंगमाथि जनताको विश्वास टुटेको छ । यो लोकतन्त्र माथिकै संकट हो ।’

अब नयाँ जनादेश आएपछि मात्र ती अंगको विश्वास बढ्ने उनको दावी छ । ‘परमादेशी सरकार छ । त्यस कारण उसले जनादेश अनुसार राज्यका अंग माथि विश्वास जगाउन सक्दैन, उसको उद्देश्य पनि त्यो रहेन । अब नयाँ जनादेश पछि तीनै अंगमा जनताको विश्वास बढ्छ’ उनले भने।

महासचिव पोखरेलले आफ्नो पार्टी २०७४ सालमा भन्दा थप बलियो भएको र आगामी चुनाव बाट २०७४ मा भन्दा बढी स्थानीय तहहरु जित्ने दावी गरे । ‘आउँदो स्थानीय चुनावले हाम्रो अवस्था देखाउँछ । हामी कमजोर छैनौं, २०७४ को भन्दा बलियो रुपमा आउँदैछौं’ उनले भने ।पार्टी नेतृत्वको सरकारले सडक बनाएको, तुइन विस्थापन गरेको र राष्ट्रियतामा बलियो संग काम गरेको भन्दै पोखरेलले दावी गरे ।

नेपालमा लोडसेडिङ अन्त्य पनि एमाले नेतृत्वको सरकारले गरेको उनको दाबी छ । ‘तर, अहिले प्राधिकरणको एउटा कर्मचारीलाई लोडसेडिङ अन्त्यको जस दिइँदैछ’ उनले भने । पोखरेलले नेकपा विघटन हुनुको कारण प्रचण्ड र माधव नेपाल नै रहेको बताए । प्रचण्डले ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक छोड्नुपर्छ भन्दा आफूहरुले अध्यक्ष पाउन महाधिवेशन कुर्नुपर्ने र प्रधानमन्त्री पाउन दलमा बहुमत चाहिने जवाफ दिएको उनले सुनाए ।

उनले थपे, ‘नेकपाको विभाजन केपी ओलीले दुई वटा मध्ये एउटा नछोडेको जस्तो भएको छ । के एक पद एक व्यक्ति प्रचण्ड र माधव नेपालले अहिले आफ्नो पार्टीमा लागू गर्नुभएको छ ? छैन । त्यस कारण उहाँले केवल विभाजनका लागि यो विषय नेकपामा उठाएको उहाँहरुले नै प्रमाणित गर्नुभएको छ ।’

 

footer