kumari
stcnepal

भ्रष्टाचारमा सानालाई ऐन ठूलालाई चैन

काठमाडौ । मुलुकमा भ्रष्टाचार बढिरहेको बेला उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने उद्घोष गरेका छन् । पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हालै आयोजित भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले जतिसुकै भ्रष्टाचार विरुद्धका कुरा गरेपनि मुलुकमा भ्रष्टाचारमा कमी आउन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिनहुँ सरकारी कर्मचारीहरुलाई घुस लिँदालिँदै पक्राउ गर्ने गरेको हुनाले भ्रष्टाचारमा कमी नआएको प्रमाणित हुन्छ ।
सम्वैधािनक रुमपा भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ गठन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताले चाहेजस्तो काम गर्न सकेको छैन । स साना भ्रष्टाचारीहरुलाई पक्राउ गरेरमात्र भ्रष्टाचारमा कमी आउन सक्दैन ।

सरकारी उच्च पदमा बसेका व्यक्तिहरु र राजनीतिक दलका प्रभावशाली व्यक्तिहरु नै भ्रष्टाचारमा संलग्न भएका समाचारहरु प्रकाशित हुँदै आएका छन् । तर उनीहरुमाथि कारबाही हुन नसकेको हुनाले भ्रष्टाचारमा कमी आउन नसकेको हो । अख्तियारमा अहिले पनि तत्कालिन माओवादीका लडाकु राखिएका शिविरमा भएको घोटाला काण्ड, ललिता निवास जग्गा काण्ड, वाइडवडी जहाज काण्ड लगायतका धेरै मुद्दाहरु रहेका छन् । तर लामो समय वितिसकेपनि त्यस्ता मुद्दाका बारेमा अख्तियारले कुनै निर्णय गर्न सकेको छैन भने मन्त्रीहरुले गर्ने नीतिगत निर्णयका बारेमा त अख्तियार नै मौन रहने गरेको छ ।

आफूहरुले पाएको अधिकार प्रयोग नगरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने परम्परा बसालिएको हुनाले नीतिगत निर्णयमा ठुलो मात्रामा भ्रष्टाचार हुने गरेको छ । बोलेर मात्र भ्रष्टाचार रोकिँदैन । स्थानीय तहमा बढेको भ्रष्टाचारलाई समेत संघीय सरकार, प्रदेश सरकार र अख्तियारले रोक्न नसकेको अवस्थामा भ्रष्टाचारीलाई कानुनी कारबाही हुन्छ भन्ने उद्घोष गर्नु सानालाई ऐन, ठुलालाई चैन भनेजस्तै मात्र हो ।

footer