kumari
stcnepal

मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

गत बिहीबार मादी नगरपालिका–६, सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिए । यस्तै बैठकले घाइतेलाई उपचार खर्च बापत जनही ५० हजार रुपैयाँ समेत दिने, मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक बनाउने निर्णय गरेको उनले बताए । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाइ छ ।

मादीको ओखरबोटे बजार बाट झापाको दमक तर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताए ।

 

 

footer