kumari
stcnepal

राजपासँग सहमित समाजवादी भने रुष्ट

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले जति अपमान गरेपनि रुखमा झुण्डिएको चमेरो झैँ सरकारमा झुण्डिएको समाजवादी पार्टीलाई सरकार नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार जस्तो भएको थियो । संविधान संशोधन गर्ने सहमति गरेर सरकारमा गएको तत्कालिन संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी एकीकरण भएपश्चात् समाजवादी पार्टी गठन भएको हो ।

डा. भट्टराई पक्षले तत्काल सरकार छोड्नुपर्ने दबाब अध्यक्ष उपेन्द्र यादवलाई दिएपनि यादव तत्काल सरकार छोड्ने पक्षमा रहेका थिएनन् । संविधान संशोधन गर्ने २ बुँदे सहमति गरेर सरकारमा गएका यादवको पार्टीलाई पहिला दुई मन्त्रालय र तीन मन्त्री दिएकोमा हालै भएको मन्त्रिपरिषद्को हेरफेरमा यादवको पार्टीका एक राज्यमन्त्रीलाई हटाइएको थियो भने स्वयम् अध्यक्ष यादवको मन्त्रालय समेत हेरफेर गरिएको थियो ।

उपेन्द्र यादव न्याय, कानुन तथा संसदीय मन्त्री रहेका थिए । संविधान संशोधनका प्रक्रिया त्यही मन्त्रालयबाट सुरु गर्नुपर्ने हुन्छ तर औपचारिक रुपमा संविधान संशोधनको प्रक्रिया सुरु भएको छैन । सत्ताधारी दल नेकपाले सरकारलाई संविधान संशोधन गर्न निर्देशन समेत नदिएको र प्रधानमन्त्रीले समेत संविधान संशोधनको बारेमा ठोस कदम नचालेको बेला उपेन्द्र यादवले गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठक समाप्त हुन लाग्दा प्रधानमन्त्रीसँग आफ्नो प्रस्ताव भएको भन्दै एउटा खाम बुझाउन समय मागेका थिए । मन्त्री यादवले खाममा संविधान संशोधनको प्रस्ताव टेबलमा राखिदिएका थिए ।

प्रधानमन्त्रीले के प्रस्ताव भन्दा मन्त्री यादवले संविधान संशोधनको प्रस्ताव भनेपछि प्रधानमन्त्री ओली जंगिएको सूत्रले दाबी गरेको छ । प्रधानमन्त्री ओलीले प्रस्ताव सुनेपछि भने जुन पायो त्यही बेला संविधान संशोधनको प्रस्ताव हुन्छ जति बेला मन लाग्यो त्यति बेला ल्याउने भन्दै कड्किएपछि मन्त्री यादव बाहिरिएका थिए सूत्रले दाबी गरेको छ । संविधान संशोधनका लागि राजनीतिक सहमतिको आवश्यक पर्ने भएपनि तत्कालिन मन्त्री यादवले किन र कसको निर्देशनमा ठाडो प्रस्ताव प्रधानमन्त्री सामू राखे ? त्यो रहस्यको विषय बनेको छ ।

केही दिन पहिला राष्ट्रिय जनता पार्टी र सत्ताधारी पार्टी नेकपा सहमति गरेर दुवै पार्टी अघि बढने निर्णय गरेपछि उपेन्द्र यादवले प्रधानमन्त्रीसँग रुष्ट भएका थिए । उनको बुझाईमा राजपा ओली नेतृत्वको सरकारमा सामेल हुन सक्ने आशंका उनमा जन्मिएको छ । यदि त्यसो भएमा प्रदेश नं. २ मा समाजवादी पार्टीको नेतृत्वमा सरकार विस्थापित हुन सक्ने र नेकपा र राजपाको संयुक्त सरकार बनेको खण्डमा समाजवादी पार्टी भित्र संकट आउन सक्ने बुझाईमा यादव रहेका छन् ।

समाजवादी पार्टीले संविधान संशोधनको लागि प्रधानमन्त्रीसँग वार्ता गर्ने कमिटी नै बनाइसकेको भएपनि वार्ता हुन नसकेको बेला सरकारले नेकपाले राजपासँग सहमति गरेपछि यादव प्रधानमन्त्रीसँग रुष्ट बन्दै गएका थिए । गत सोमबारको मन्त्रिपरिषद्को बैठकमा यादवले राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि संघीय समाजवादी पार्टीले सरकार छोड्दै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

footer