kumari
stcnepal

तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । बारामा तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । बिहीबार अपराह्न १६ः४० बजे अमलेखगञ्ज स्थित आयल निगम भित्र ना.४ ख.२६५६ नं.को पेट्रोल ट्यांकरमा आगलागी भएको थियो ।

पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भइ ट्यांकरको क्याबिनमा आगलागी हुँदा सहचालक श्रेष्ठ घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भएका उनलाई सुरुमा सिमरा स्थित अल्पाइन अस्पतालमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर स्थित वर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । शुक्रबार बिहान ८ बजे अस्पतालले उनको मृत्यु भएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ट्यांकरमा लागेको आगो बिहीबार साँझ ५ बजे नै नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रीसियनको काम गर्दै आएका २५ वर्षीय रामलखत प्रजापति सामान्य घाइते भएका थिए ।

 

 

 

footer