kumari
stcnepal

नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरेका छन । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताए ।

शुक्रबार दिउँसो नागरिक लगानी कोषको ३२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । ‘पूँजी कतै हराइरहेको छ । आखिर बजार बाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भने, ‘हाम्रो पूँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्ड लगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्’ उनले भने ।

पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पूँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको बताए । ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’ उनले भने । बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने विश्वास व्यक्त गरे ।

उनले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य वस्तु, खाने तेल, प्लास्टिक लगायतको मूल्य बढेको छ । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाँडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ’ उनले भने, ‘त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तर स्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।’

उनले पछिल्लो समय शोधानान्तर स्थिति सुधार हुन थालेको बताउँदै चाँडै अर्थतन्त्र लयमा आउने विश्वास पनि दिलाए । रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

नागरिक लगानी कोषलाई धेरे भन्दा धेरै पूँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न निर्देशन समेत दिए । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे अर्थमन्त्रीले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताए । कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७-२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको स्तारोन्नतीको लागि उक्त रकम आवश्यक भएकोमा जोड दिए ।

 

 

 

 

footer