kumari
stcnepal

एआईजी बढुवा विरुद्ध डीआईजीहरूले गुहारे लोक सेवा

नेपाल प्रहरी तर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् ।

नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिस प्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

समितिले डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न भन्दै सिफारिस गरेको थियो । सिफारिस प्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री पनि असन्तुष्ट रहँदै आएका छन् । क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ ।

यसैगरी, बढुवामा नपरेका डीआईजी कार्कीले आफू अन्याय विरुद्ध अदालतको ढोका सम्म जाने जानकारी दिए । प्रहरी प्रधान कार्यालयले भने एआईजी बढुवामा डीआईजी अर्याल वा ईश्वरबाबु कार्की मध्ये एक जना र धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न खोजेको थियो । तर, गृह सचिव टेकनारायण पाण्डेले सिंह बाहेकका दुई डीआईजीलाई बढुवामा पन्छाएपछि प्रहरी संगठन भित्र नैराश्यता बढेको छ ।

बढुवा सिफारिसमा परेका पन्त हालका आईजीपी क्षत्री सँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनलाई प्रहरी संगठन बाट बिदा हुने समयमा सरकारले खुसी बनाउन एआईजी बढुवा गरेको हो ।

राजधानी दैनिक

 

 

 

footer