kumari
stcnepal

एमाले विरुद्ध निर्वाचन आयोग नलागोस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधि माथि प्रश्न उठाउँदै एमाले विरुद्ध नलागोस् भनी खबरदारी गरेका छन् ।

सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने जस्ता व्यवस्था गर्दा आफूहरु सँग परामर्श नगरेको भन्दै एमाले विरुद्ध नलाग्न आग्रह गरे । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरु सँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए । निर्वाचन आयोगले आचार संहितामा मनोनयन अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए ।

केन्द्रमा गठबन्धनकै सरकार छ, प्रदेशमा गठबन्धनकै सरकार छ, स्थानीय तहमा गठबन्धनको वर्चश्व छैन’ उनले भने, ‘नभए स्थानीय सरकारको कार्यकारिणीलाई रिक्त गर्नपर्ने आवश्यकता र औचित्य छैन ।’ निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था गर्दा राजनीतिक दलहरु सँग परामर्श नगरेको उनले बताए । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वमा दल दर्ता गर्न हतारो गरेर आफ्नो पार्टी विभाजन गरेको पनि ओलीले आरोप लगाए । त्यस्तै मतपेटिकाको रङ हरियो बनाउनु पनि एमाले विरुद्ध भएको ओलीले बताए ।

‘अहिलेसम्म हामीले रङको कारण चिनेनौं, कन्फ्युजन भयो भन्ने कुरा आएको छैन । त्यसैले रङ बदलेर हरियो किन राख्नुपर्‍यो ? सूर्य कसरी हरियो हुन्छ ? कि त सिम्बोलिक ब्ल्याक एण्ड हृवाइटमा जानुपर्‍यो । कि जसको जुन चिह्न हो, त्यही अनुसार हामीलाई रातो सूर्य देऊ । अनि हामीलाई रातो सूर्य नहुने अनि रुखको जस्तो रङ छ, त्यस्तै गर्नुपर्ने ? यो सत्ता साठगाठ होइन भने के हो ?’

निर्वाचन आयोगले यस्ता कुराहरु दलहरु सँग परामर्श नगरी गर्दै जानु उचित नभएको भन्दै ओलीले यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप उही भरतपुर काण्ड, सिरहा काण्ड उस्तै देखिने त होइन ? भन्ने प्रश्न गरे । ‘पहिलो निर्वाचन आयोगको जस्तो खालको क्रियाकलाप थियो, गतिविधि थियो । स्पष्टै एमाले विरुद्ध थियो । यो कुरा नदोहोरियोस् भन्ने हामी चाहन्छौं’ उनले भने । ओलीले यसपटकको निर्वाचनमा मतपेटिका आँखा बाट ओझेल पर्न नदिने पनि बताए । ‘यस पल्ट हामी मतपेटिका आँखा बाट ओझेल परेको हुन दिन मञ्जुर गर्दैनौं । किनभने हाम्रो आँखा अगाडि मतमेटिका हुनुपर्दछ । हाम्रो आँखा अगाडि मत हालिनुपर्दछ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा हुनुपर्दछ ।’

 

 

footer