kumari
stcnepal

नेकपा एमालेले उम्मेदवार छान्न बनायो ६ वटा मापदण्ड

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तयार गरेको छ ।

पार्टीको सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका छनोटका लागि ६ वटा मापदण्ड तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने गुरुङले जनाएका छन् ।त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । पार्टी आन्दोलनमा पुर्याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनोटको मापदण्ड तय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरेको छ । त्यस्तै महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ । त्यस्तै, एमालेले आगामी वैशाख ९ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ । पार्टीको चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।

 

 

footer