kumari
stcnepal

प्रधानमन्त्री देउवाले आर्थिक अवस्था सन्तुलनमा राख्न व्यापार घाटा घटाउने गरी काम गर्न निर्देशन दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठकमा उनले व्यापार घाटा कम गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्’, उनले भने । प्रधानमन्त्री देउवाले अर्थतन्त्र आत्मनिर्भर बनाउनका लागि सम्भावना भएका क्षेत्रमा लगानी बढाउन पनि आग्रह गरे ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधन, विद्युतीय चुलो लगायतको प्रयोग बढाउन पनि निर्देशन दिए । ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनुपर्छ ।’ उक्त समीक्षा कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

 

 

footer