kumari
stcnepal

एआईजी बढुवामा लोकसेवाले माग्यो जवाफ

काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालय सँग लिखित जवाफ मागेको छ ।

सफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार उजुरी दिएपछि लोक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालय सँग त्यसको प्रतिक्रिया मागेको हो । ‘बढुवा बारे गुनासो सुन्ने समितिको बैठक सोमबार बस्यो र त्यस सम्बन्धमा के कसो भएको हो भनेर प्रतिक्रिया लिने निर्णय भए बमोजिम बढुवा सिफारिस समितिमा पत्र गएको छ,’ लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले भने ।

बढुवा बारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । यो समितिमा मुख्य सचिव र कानुन सचिव रहन्छन् । त्यसको सचिवालय लोक सेवा आयोगमा रहन्छ । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्य क्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ गते उजुरी दिएका थिए ।

बढुवा गर्ने निर्णय भएको सात दिन भित्र उजुरी दिन सकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने म्याद सकिएको भोलि पल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिन भित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजात सहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिन भित्र टुंगो लगाइ सक्नुपर्छ । प्रहरी नियमावलीमा एआईजी पदका लागि बढुवा सिफारिस समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव र सदस्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रहने व्यवस्था छ । यो समितिको सदस्य सचिव प्रहरी महानिरीक्षक हुने व्यवस्था छ ।

 

 

 

footer