kumari
stcnepal

संवैधानिक पदाधिकारी नियुक्ति बिरूद्ध मुद्दाको आज पनि सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।

सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेश विरुद्ध परेको निवेदन माथि समेत सुनुवाइ गर्नेछ । संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्। गत शुक्रबार संवैधानिक इजलास बाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक/एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पाउनेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए । तर १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले एकल इजलास बाट संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएका थिए । उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । अब दुवै मुद्दा एक साथ अघि बढ्नेछ ।

 

 

footer