kumari
stcnepal

प्रधानमन्त्री देउवा भोली बिहीबार तनहुँ जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा  भोली बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण पश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।त्यसपछि प्रधानमन्त्री देउवा नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

 

footer