kumari
stcnepal

विजय गच्छदारको राजनीतिक भविष्य अन्धकार

काठमाडौ । पछिल्लो समयमा निकै चर्चा परिचर्चा भएको बालुवाटारको ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पूर्व उपप्रधानमन्त्री सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदार सहित पूर्वमन्त्री चन्द्रदेव जोशी र अर्का पूर्वमन्त्री डम्बर श्रेष्ठ माथि समेत मुद्दा दायर भएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेत समेत मुद्दामा तानिएका छन् । तर बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको नाममा नभई उनी सचिव रहेको बेला अनियमित काम गरेको भन्दै सचिवको हैसियतमा रहँदाको अवस्थामा मुद्दा चलाइएको हो । खिलराज रेग्मी मन्त्रिपरिषद्का सदस्य भएका पूर्वसचिव एवं पूर्वमन्त्री छविराज पन्त र पूर्व सचिव दिनेशहरी अधिकारीका विरुद्ध समेत मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएका अधिकांश कर्मचारीहरु अहिले अवकाश पाईसकेका छन् ।

विजयकुमार गच्छेदारमाथि विशेष अदालतमा मुद्दा दर्ता भएकाले उनी स्वत सांसद पदबाट निलम्बनमा परेका छन् । लामो समयसम्म मन्त्री बनेका गच्छदारले अब अदालतबाट सफाई नपाएको खण्डमा उनको राजनीतिक भविष्य समेत समाप्त हुन सक्छ । २०४८ सालदेखि निर्वाचन लगातार जित्दै आएका गच्छेदार ५ पटकसम्म उप्रधानमन्त्री भएका थिए भने पटक पटक मन्त्री बनेका थिए । गच्छदारलाई अख्तियारले ९ करोड ६५ लाख ६७ हजारको विगो र त्यति नै जरिवानासहित १० वर्ष जेलको सजाएको माग दाबी गरेको छ । पूर्व सचिव दीप बस्नेत पूर्वमन्त्री डम्बर श्रेष्ठसँग पनि ९ करोड ६५ लाख ६७ हजारको माग दाबी गरेको छ भने अर्का पूर्वमन्त्री चन्ददेव जोशीसँग ७ करोड ८ लाख ४५ हजारको माग दाबी गरेको छ । पूर्व सचिव छविराज पन्त र दिनेशहरि अधिकारीलाई समेत ९ करोड ६५ लाख ६७ हजारको माग दाबी गरिएको छ ।

त्यसैगरी हाल चितवन जिल्ला अदालतमा न्यायाधिश रहेका विनोद गौतममाथि पनि ९ करोड ६५ लाख ६७ हजार माग दाबी गरिएकोले उनी समेत स्वत निलम्बनमा परेको छ । गौतम आवास तथा भौतिक योजना मन्त्रालयमा रहेका बेला अनियमितता गरेकोमा उनलाई सजाए गरिएको हो । जग्गा काण्डका मुख्य नाइके भनिएको रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख ४० हजार र अर्का विचौलिया शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजारको माग दाबी सहितको मुद्दा दायर भएको छ । त्यसैगरी भाटभटेनीका मालिक समेत रहेका मीनबहादुर गुरुङलाई र उनको परिवारसहितलाई ५० करोड ४७ लाखको विगो दाबी सहितको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो छानविन र अनुसन्धानपछि माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत जग्गा काण्डको छानविन गरिरहेको र आफ्नो प्रतिवेदनमा गृहमन्त्री रामबहादुर थापालाई बुझाईसकेकोले उसले बेग्लै मुद्दा चलाउने भएको छ । यसरी ललिता निवास जग्गाकाण्ड अब अदालतमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि साना माछाहरुलाई पक्राउ गरी मुद्दा चलाएको आरोप लागिरहेका बेला उसले ऐतिहासिक कदमको रुपमा यो मुद्दा चलाएको छ । अब वाइडवडी जहाज खरिद काण्ड, पूर्व माओवादीका लडाकुलाई राखिएको शिविरमा भएको घोटला काण्ड सहितका अन्य ठुला काण्डहरुका विषयमा समेत मुद्दा चलाउनुपर्ने माग बढ्दै गएको छ ।

ललिता निवास जग्गा काण्डमा मुछिएका विष्णु पौडेलका छोराको नाममा राखिएको जग्गा सरकारलाई फिर्ता दिने भनेर उनलाई र कुमार रेग्मीलाई उन्मुक्ति दिएको विषयमा भने जनताले चित्त बुझाउन सक्ने अवस्था देखिँदैन, त्यसैगरी नीतिगत निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय भने विवादको घेरामा पर्न सक्छ । जे होस्, अख्तियारले अहिले स्वाबासी नै पाएको छ ।

footer