kumari
stcnepal

ओलीको डिप्लोमेसी डिनर

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक समापन भएको दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले केन्द्रीय समितिका सदस्यहरु र दुवै संघीयसभाका सांसदहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा रात्रीभोज दिएका छन् । बेलुका ६ बजेदेखि सुरु भएको रात्रीभोज राती ९ बजेसम्म चलेको थियो । उक्त रात्रीभोजमा केही केन्द्रीय सदस्यहरु र केही सांसदहरु भने उपस्थित भएका थिएनन् । रात्री भोजमा विभिन्न प्रकारका खानाहरुको व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री ओलीले अमेरिकाले सञ्चालनमा ल्याएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई तत्काल संसदबाट पारित गराउनुपर्ने भन्दै आउनुभएको छ भने उनका मन्त्रीहरुले त केहीले कार्यान्वयन भइसकेको र केहीले त्यसलाई परिमार्जन नगरी पारित गराउन हुँदैन भन्ने अभिव्यक्ति दिईरहेका बेला भएको नेकपाको केन्द्रीय समितिको बैठकमा त्यसको व्यापक आलोचना भएपछि त्यसलाई शान्त पार्न प्रधानमन्त्री ओलीले रात्रीभोजको आयोजना गर्नुभएको हो भन्न अब कुनै कठिनाई भएन । नेकपाका वरिष्ठ नेताहरु नै एमसीसीका बारेमा एकमत छैनन् । केन्द्रीय समितिको बैठकमा त त्यस विषयमा झण्डै ९० प्रतिशतले विरोध जनाएका छन् । यसरी एमसीसीको विरोध पार्टीभित्रै भएपछि पार्टीका अध्यक्षद्वय संकटमा परेका छन् । केन्द्रीय समितिको बैठकमा एमसीसीका बारेमा कुरा उठ्छ भनेर अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा एमसीसीका बारेमा केही उल्लेख गरिएको थिएन । त्यस विषयमा समेत केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका थिए ।

नेकपाभित्र प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालपक्ष गरी तीन गुट रहेका छन् । पछिल्लो समयमा दाहाल र नेपाल एक भएको जस्तो देखिएको छ । त्यसैको परिणाम हो भैसेपाटीको बैैठक । नेकपाको सचिवालयमा ९ जना रहेकोमा पछिल्लो समयमा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । सरकारको काम कारबाहीको आलोचना गर्दै आएका अध्यक्ष दाहालले खुलेरै सरकारको विरोध गर्न थालेका हुनाले प्रधानमन्त्री ओलीले आफ्नो सरकारको बचाउ गर्नका लागि केन्द्रीय सदस्य र सबै सांसदहरुलाई रात्री भोजको आयोजना गरी सन्तुलन मिलाउने प्रयास गरेको हुनसक्छ । प्रधानमन्त्री ओलीले बेला बेलामा डिनर डिप्लोमेसीको आयोजना गर्दै आएका छन् । कतिपय सरकारका निर्णयमा पार्टीको साथ पाउन नसकेपछि सरकार आफ्ना निर्णयबाट पछि हट्नुपर्ने अवस्था पहिला सिर्जना भएको थियो । माधव नेपाल पक्षीय नेताहरुले त खुलमखुल्ला रुपमै सरकारले गरेका निर्णयहरुको स्वामित्व पार्टीले लिन नसक्ने अभिव्यक्ति समेत दिँदै आएका थिए । स्वयम् प्रधानमन्त्री समेत त्यस विषयमा असन्तुष्टि जनाउँदै आएका बेला प्रधानमन्त्रीले दिएको रात्रीभोजले गर्दा नेताहरुको बाझिएको मन सफा हुन सक्ने आंकलन गरिएपनि अहिले नै यसै हुन्छ भन्न सकिने अवस्था छैन ।

एमसीसीका पक्षमा नेकपाभित्र पक्ष र विपक्षमा नेताहरु रहेका हुनाले र केन्द्रीय समितिको बैठकमै त्यस विषयमा कुरा उठेको हुनाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका छन् । नेता रावलले एमसीसीमा भएका केही प्रावधानहरु सच्चाउनुपर्ने कडा अभिव्यक्ति दिँदै आएका छन् भने ज्ञवाली भने तत्काल संसदबाट पारित गराउनुपर्ने पक्षमा रहेकाले अध्ययन समितिले एक मतले पार्टीलई प्रतिवेदन बुझाउन सक्नेमा आशंका उब्जिएको छ । यी सबै आंशकाहरुलाई छिचोल्न प्रधानमन्त्रीले डिप्लोमेसी रात्रीभोजको आयोजना गरेको भएपनि हेर्न बाँकी छ, रात्रीभोजले एमसीसीलाई कहाँ पु¥याउँछ र कसरी समस्याको समाधान गर्दछ भनेर ।

footer