kumari
stcnepal

गोल मेसिन साम्बा १३ महिना पछि मैदान फर्किइन्

काठमाडौं । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता सावित्रा भण्डारी चोटमुक्त भएर १३ महिना पछि फुटबल खेल्न मैदान फर्किएकी छन् ।

सावित्राले राष्ट्रिय महिला लिग अन्तर्गत त्रिभुवन आर्मी विरुद्धको उद्घाटन खेलमा वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरी १३ महिना ७ दिनपछि प्रतिस्पर्धात्मक खेलमा सहभागी भएकी हुन् । सावित्राले २०७७ सालको महिला लिगमा फागुन ३ गते भएको १० औं चरणको खेलका क्रममा घुँडाको इन्टेरियर क्रुसियल लिगामेन्ट (एसीएल) इन्जूरी पछि बाँकी खेल गुमाइन् ।

एपीएफले उपाधि जितेको त्यो संस्करण १० खेलमा कीर्तिमानी ४३ गोल गरेकी सावित्रा पुरस्कार वितरण समारोहमा भने वैशाखी टेकेर पुगेकी थिइन् । सन् २०१४ मा माल्दिभ्स विरुद्ध राष्ट्रिय टोली बाट डेब्यू गरेयता लगातार उच्चस्तरको प्रदर्शन गरेकी सावित्रालाई एन्फाले कतारमा उपचारको व्यवस्था मिलाएको थियो ।

कतारको विश्व प्रसिद्ध अस्पेटार अस्पतालमा गत असार ३१ गते उनको शल्यक्रिया भएको हो । करिव ७ महिनाको फिजियोथेरापी पछि माघ २५ गते उनी स्वदेश फर्किएकी थिइन् । लमजुङको सीमपानीमा जन्मिएकी सावित्राले २०७१ साल देखि विभागीय टोली एपीएफ बाट खेल्न थालेकी हुन् । त्यसयता लगातार एपीएफको प्रमुख खेलाडीका रुपमा छिन् । भारत र माल्दिभ्समा व्यवसायिक फुटबल खेलेकी सावित्राले राष्ट्रिय टोलीका लागि ४० खेलमा कीर्तिमानी ३९ गोल गरेकी छन् ।

 

 

footer