kumari
stcnepal

एमालेले सभामुखलाई दियो दुई सन्देश कि १४ सांसदलाई पदमुक्त गर कि राजिनामा देउ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुई वटा सन्देश दिएको छ । बबरमहल स्थित कार्की ब्यांक्वेटमा दुइदिन बसेको बैठक बाट एमालेले निष्काशित गरेका माधव कुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिएर बाहिरिनुपर्ने भन्ने औपचारिक रुपमा नै दुई वटा सन्देश दिएको हो ।

‘हाम्रो पार्टी प्रस्ट छ– प्रतिनिधि सभा पुनस्र्थापना गर्ने २८ असार २०७८ को परमादेश प्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चहान्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं,’ एमाले बैठकले पारित गरेको दस्तावेजमा भनिएको छ, ‘तर यसका लागि या त १४ सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पद बाट राजीनामा दिनुपर्छ ।’

एमालेबाट निष्काषन गरिएका माधवकुमार नेपाल, बेदुराम भुसाल, प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडालगायत १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस नगरे सम्म प्रतिनिधिसभा बैठकलाई निरन्तर अवरोध गरिरहने पनि बैठकले सन्देश दिने देखिएको छ ।गत २५ साउनमा एमाले १४ जना सांसदहरू माथि कारबाही गरिएको भन्दै सभामुखलाई १ भदौंमा जानकारी गराएको थियो । तर, सभामुख सापकोटाले उक्त लिखित जानकारी दिँदा पनि पदमुक्तको सूचना टाँस नगरेको भन्दै २३ भदौबाट निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

माओवादी केन्द्रले कारबाही गरेका सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई तथा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सम्बन्धित पार्टीले कारबाहीको जानकारी गराए लगत्तै पदमुक्तको सूचना सभामुख सापकोटाले टाँस गरेको, तर एमालेले जानकारी गराउँदा पनि पदमुक्त नगरेको भन्दै सभामुख सापकोटासँग एमाले आक्रोशित हुँदै आएको छ । ‘एमालेलाई विभाजन गरी छाडने दुराशयका साथ, विगतमा आफंैले स्थापित गरेको नजिरको समेत बर्खिलाफ गएर, दोहोरो मापदण्ड अपनाउँदै सभामुख बाट उक्त सूचना प्रकाशन गर्न अस्विकार गरेको,’ एमाले बैठककोे निष्कर्ष छ ।

‘यसैको जगमा टेकेर निर्वाचन आयोगले एमाले बाट अलग भएर निस्किएको समूहलाई नयाँ दलका रुपमा दर्ता ग¥यो, सभामुखको यस्तै विभेदकारी, असंवैधानिक र असंसदीय भूमिकाको विरोधमा एमाले संसदीय दलको निर्णय अनुसार गत २३ भदौदेखि हाम्रा पार्टीका सांसदहरूले बेल घेराउ गरेर विरोध गरिरहनु’ परेको एमालेको तर्क छ ।

संसदको प्रतिपक्ष मात्र नभएर मुलुककै सबै भन्दा ठुलो दलले अगाडि सारेको संवेदनशील, संवैधानिक र लोकतन्त्रक सँग जोडिएको प्रश्नमा गम्भीर नदेखिएको भन्दै एमालेले १४ सांसदको पदमुक्तको सूचना टाँस, नभए सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पूर्ववतः अडान राखेर केन्द्रीय कमिटी बैठक बाट नै निर्णय गरेर सन्देश पठाउन लागेको एक नेताले बताए ।

 

 

 

 

footer