kumari
stcnepal

चिनियाँ विदेशी मन्त्रीको यस्तो छ तीन दिने कार्यक्रम

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउँसो चार बजेको वरपर काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनी आफू बस्ने बत्तिसपुतली स्थित होटल द्वारिकामा जानेछन् । शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । शनिबार दिउँसो दुई बजेतिर उनी नेपाल–चीन विदेश मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धित पदाधिकारी बीच केही सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा सँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । शनिबार नै परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुने कार्यक्रम छ ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने जनाइएको छ । नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुका उनी स्वदेश फर्कनेछन् ।

 

 

footer