kumari
stcnepal

बास्कोटा काण्डले पहिरो जान सक्छ

काठमाडौ । सेक्युरिटी प्रेस खरिद काण्डमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीका अति विश्वासपात्र मानिएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा राजिनामा दिन बाध्य भएका छन् । बास्कोटाको राजिनामापछि नेकपाभित्र एक प्रकारको राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।

नेकपाकै नेताहरुका अनुसार बास्कोटाले मात्र यति ठुलो साहस गर्न सक्ने अवस्था नरहेकोले त्यस काण्डमा स्वयम् प्रधानमन्त्रीकै संलग्नताको आशंका गरिरहेका बेला यस काण्डको भण्डाफोर गर्ने विजय मिश्र भन्ने व्यक्तिले उक्त काण्डको अडियो दुई महिना अघि नै प्रधानमन्त्रीलाई दिई सकेको बताएपछि कमिसन काण्डले अर्को तरङ्ग उत्पन्न गरिदिएको छ । प्रधानमन्त्रीसहित गोकुल बास्कोटा, तत्कालिन सञ्चार सचिव हालका सूचना आयोगका अध्यक्ष महेन्द्र गुरुङ्ग र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहितलाई कारबाही गरी पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ ।

प्रधानमन्त्री सहितका अन्य व्यक्तिहरुलाई कारबाही गरि पाएँ भनि अख्तियारमा उजुरी परेपछि नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षमा भने खुसीयाली छाएको छ । त्यही क्रममा शनिबारमात्र बसेको नेकपाको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर संविधान नै संशोधन गरी प्रधानमन्त्री बनाउने आश्वासन दाहालले दिएका छन् । गौतम सत्ता बाहिर बस्न नसक्ने व्यक्ति भएका र दाहालले गौतमको बानी बुझेका हुनाले नै उनलाई आफ्नो गुटमा ल्याएर ओलीलाई विस्थापित गर्न सक्ने रणनीति लिएका छन् । त्यसैका लागि उनले पुष २४ गते गौतमको निवास भैसेपार्टीमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुको गोप्य भेला राखेका थिए । त्यही भेलाको निर्णयअनुसार प्रतिनिधिसभाको सभामुखमा दाहालका विश्वासपात्र अग्नि सापकोटा सभामुख भएका छन् । नेकपाको सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पछिल्लो समयमा चुपचाप बसेका भएपनि महासचिव विष्णु पौडेल समेत महत्वपूर्ण निर्णयमा चुपचाप बस्ने रणनीतिमा रहेकाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अल्पमतमा परेका छन् ।

पछिल्लो समयमा दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टीले सरकारलाई नियन्त्रण गर्न खोजेको हुनाले प्रधानमन्त्रीले चाहँदैमा सरकारले कुनै निर्णय लिन सक्ने अवस्था नभएकाले प्रधानमन्त्रीले भने झैँ एमसीसी अहिलेकै अवस्थामा पारित हुन सक्ने अवस्था नरहेकाले प्रधानमन्त्री ओली संकटमा पर्दै गएका छन् । पछिल्लो समयमा नेकपाको सचिवालय बैठकले बहुमतको आधारमा केपी ओलीलाई सरकारको नेतृत्व छोड्ने निर्णय गर्न सक्ने सम्भावना समेत रहेका एक नेताले बताएका छन् ।

दाहालले निकै पहिला देखि नै सरकारका काम कारबाहीको विरोध गर्दै आइरहेका बेला सञ्चारमन्त्रीको कमिसन काण्डको अडियो सार्वजनिक भएपछि दाहाललाई अझ सजिलो भएको छ त्यसैले दाहालले अनेक हथकण्डा अपनाएर प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न सक्ने सम्भावना समेत बढेर गएको छ । बास्कोटा काण्डले गर्दा दाहालको मनोकांक्षालाई अरु बल पु¥याएको नेकपा बृत्तमा चर्चाको विषय बनेको छ ।

footer