kumari
stcnepal

पार्टीमा घेराबन्दीमा परे पनि रोगलाई जिते ओलीले

काठमाडौ । लामो समयको प्रतिक्षापछि प्रधानमन्त्री केपी ओलीको गत बुधबार (फागुन २१) गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ। ६९ वर्षीय प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गत सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । झण्डै पाँच घण्टाभन्दा बढी समय लगाएर मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरामूक्त रहेको प्रत्यारोपणमा संलग्न भएका चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई नातामा भान्जी पर्ने ३२ वर्षीय समिक्षा सँग्रौलालले मिर्गौला दान गरेकी थिइन् । निज संग्रोलाको बायाँ मिर्गौला निकालेर प्रधानमन्त्री ओलीलाई बायाँपट्टी प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओलीको २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहिलो पटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र दोस्रो पटक आफ्नै देशमा प्रत्यारोपण गरिएको छ ।

सत्ताधारी दलका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आफैँ पार्टीले घेराबन्दीमा पारेको भएपनि बढ्दो रोगप्रति भने विजयी हुनुभएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण पश्चात् गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष रहेका छन् । पार्टी अध्यक्ष रहेपनि ओली प्रधानमन्त्री रहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका कार्यकारी अधयक्ष रहेका छन् । केही समय पहिला दुई अध्यक्षबिच भएको सहमतिमा दाहाल कार्यकारी अध्यक्ष रहने र पाँच वर्ष ओली प्रधानमन्त्री रहने सहमति भएपनि सहमतिको मसी सुक्न नपाउने पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर संविधान नै संशोधन गरी प्रधानमन्त्री बनाउने खेलमा अध्यक्ष दाहाल सहितको सचिवालय सदस्यहरु लागेपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेका थिए । तर तिनै ओलीको मिगौला प्रत्यारोपणका समयमा देखिएका नेकपाका कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थितिले गर्दा प्रधानमन्त्री ओली अहिले पनि पार्टीभित्र बहुमतकै पक्षमा देखिएको आभाष पाउन सकिन्छ ।

गएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका व्यक्तिलाई संविधान नै संशोधन गरेर प्रधानमन्त्री बनाउन खोज्नु सार्वभौमसत्ता सम्पन्न भनिने जनताको अपमान समेत हो । जनताले नपत्याएर पाँच वर्षका लागि संसदमा जाने बाटो बन्द गराई दिएका व्यक्तिलाई संसदमा पठाउने र चोर बाटो अपनाएर प्रधानमन्त्री बनाउन खोज्ने अध्यक्ष दाहालसहितका अन्य केही नेताहरुको षड्यन्त्रले गर्दा नेकपा नै विभाजनका अवस्थामा पुगेको भएपनि प्रधानमन्त्री ओलीको सुझबुझ कै कारण नेकपा विभाजित हुनबाट बचेको छ ।

प्रधानमन्त्री ओली रोगी भएपनि राजनीतिक रुपमा विजयी हुँदै आएकाले उनले रोगलाई समेत पराजित गरेका छन् । अस्पतालको बसाई सकेर प्रधानमन्त्रीको सरकारी निवासमा फर्किएपछि प्रधानमन्त्री ओली दैनिक काममा सक्रिय हुने भएका छन् । मुलुक पछिल्लो समयमा कोरोना भाइरसबाट ग्रस्त भएको छ । अब विस्तारै विकास निर्माणको कार्यहरु रोकिन सक्छन् । मूल्यबृद्धि बढ्ने पक्कापक्की भएको छ ।

सरकारले तोकेको विकासको दर घट्ने निश्चित जस्तै भएको छ । यस्तो विकराल अवस्थालाई सम्हाल्नका लागि उच्च मनोबल भएका प्रधानमन्त्री ओलीको आवश्यकता अझै देशलाई खाँचो रहेकोले हामी प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै प्रधानमन्त्री ओलीले दोस्रो जीवन पाएकाले अब उनले पूर्व राजासहितका सबै राष्ट्रवादी शक्तिहरलाई साथमा लिएर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढेको खण्डमा मात्र उनी प्रधानमन्त्री भएको सार्थकर्ता रहन सक्छ ।

footer