kumari
stcnepal

भाग्ने सांसदलाई भत्ता नदेउ

काठमाडौ । प्रतिनिधिसभाका सांसदहरु प्राय प्रत्येक दिन बैठक बस्न भनेर संसद भवन नयाँ बानेश्वर पुग्ने गरेका छन् । तर उनीहरुको भित्री उदेश्य भनेको बैठक बस्ने होइन कि रु. दुई हजार भत्ता बुझ्ने मात्र रहेको छ । हाजिर गरेर सांसदहरु भाग्ने गरेका हुनाले प्रतिनिधिसभाको बैठकमा आवश्यक संख्या नपुग्ने र प्रतिनिधिसभाको बैठक नै स्थगित गर्नु परेका धेरै उदाहरणहरु रहेका छन् । त्यसैकारण पछिल्लो एक सातामा २÷३ वटा मात्र बैठक बसेका छन् ।

प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेका छन् । यहि फागुन १३ गते देखि १९ गतेसम्ममा सञ्चालन भएका चार बैठकमा १ सय ४४ देखि एक सय ८८ जना सांसदले हाजिर गरेका छन् । सभाको बैठक सञ्चालनका लागि गणपुरक संख्या एक तिहाई अर्थात ६९ जनाको उपस्थिति अनिवार्य हुन्छ । बैठक बस्ने दिन १ सय पचासभन्दा बढी सदस्यहरुले हाजिर गरेपनि संसदमा उनिहरुको उपस्थिति नहुने भएकाले गणपुरक संख्या नै नपुगेर संसदको बैठक स्थगित गर्नु परिरहेको छ । हाजिर गरेर सांसदहरु भाग्ने क्रम पछिल्लो समयमा समेत जारी रहेकाले सांसदले आफ्नो कार्य अगाडि बढाउन नसक्दा कतिपय महत्वपूर्ण विधेयकहरु माथि छलफल समेत हुन सकेको छैन ।

अहिले पनि संसद सचिवालयमा धेरै विधेयकहरु दर्ता भएका छन् । प्रतिनिधिसभाका समितिहरुमा ५ वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् । राष्ट्रियसभा र त्यस अन्र्तगतका समितिहरुमा २१ वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् । सत्ता पक्षमा मात्र होइन विपक्षी दलका सांसदहरुसमेत संसदमा हाजिर गरेर भाग्ने गरेका हुनाले अन्तिम समयसम्ममा बैठकको कोरमसम्म पुग्न नसक्ने अवस्था देखिन्छ । बैठकमा भागै नलिई हाजिर गरेर भाग्ने सांसदहरुको लागि संसदले दैनिक दुई लाखभन्दा बढी रुपैँया भुक्तानी गरिरहेको हुनाले अब बैठक सुरु हुनु अगाडि र बैठकको समाप्ति हुनुभन्दा अगाडि हाजिर गराएर मात्र सांसदहरुलाई बैठक भत्ता दिइनु उपयुक्त हुनेछ । जनताले सांसदहरुलाई कानुन बनाउन पठाएका भएपनि उनीहरुले बैठक भत्तामात्र लिने र बैठकमै नबस्ने भएपछि उनीहरुलाई किन दैनिक रु. २ हजारका दरले बैठकभत्ता दिने भन्ने चर्चा समेत चल्न थालेको छ ।

हिउँदे अधिवेशनमा एउटा पनि विधेयक पारित भएको छैन तर अधिवेशनको अन्त्य हुने दिन नजिकिँदै छ । विना परिश्रम सांसदहरुलाई बैठकको नाममा भत्ता दिइनु राज्यको ढुकुटीमाथि बोझ बाहेक अन्य केही हुन सक्दैन । जुन काम गर्न भनेर उनीहरुलाई जनताले त्यहाँ पठाएका हुन् त्यही काम उनीहरुले नगर्ने भएपछि नैतिकताका आधारमा समेत हाजिर गरेर भाग्ने सांसदहरुले बैठक भत्ता नलिनुपर्ने हो । तर नैतिकतालाई बेचेर खान पल्केकाहरुलाई नैतिकताको के ख्याला ।

footer