kumari
stcnepal

पोखरा बिमानस्थल नेपाल सरकारलाई चिनियाँ बिदेशी मन्त्रीले गरे हस्तान्तरण

चीन सरकारको अनुदान र सहुलियत ऋणमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उपलब्ध गराएका हुन् । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्री बाट नेपालका परराष्ट्रमन्त्रीलाई हस्तान्तरण हुने बित्तिकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिले सम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेसन, फिनिसिङ लगायतका काम छन् । विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाज भित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्ष पछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाख देखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।

यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।

footer