kumari
stcnepal

शनिबार भर्चुअल रुपमा जयनगर–जनकपुर रेल्वेको उद्घाटन हुने

काठमाडौं । १९ चैतमा जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन हुने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नतिका लागि भारतले रेल सेवा बन्द गरेको थियो ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्नेछन् । रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रो पटक रेलवे अध्यादेश जारी गरेको थियो ।भारतले नेपाल तर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिल तर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

तर, विविध कारण देखाए रेल चलाउन अलमल हुँदै आएको थियो । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारत बीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई प्रोसिड्योरले सम्बोधन गरेको छ । महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्ने बारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कता बारेका व्यवस्था पनि सहमति भइसकेको छ । रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र प्रशिक्षण दिन भारत सहमत छ ।

जनकपुर–जयनगर रुटमा चलाउन तामझाम सहित असोज २०७७ पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्ष सम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो । पछिल्लो महिनामा भने परीक्षणका रुपमा रेल नियमित रुपमा रित्तै चलाउन सुरु गरिएको थियो । केही दिन यता रेल दिन बिराएर चलाउन थालिएपनि यात्रु चढाइएको छैन । रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतको कोंकण रेल्वे सँग सम्झौता गरेको छ । नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि कर तिर्दा सम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँमा किनिएको थियो । १७ महिना पछि रेलले नियमित यात्रु सेवा दिन सुरु गर्ने भएको छ ।

 

 

 

footer