kumari
stcnepal

अख्तियारले लिखु तामाकोशी गाउँपालिका अध्यक्ष सहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा चार करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं सहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४ र ०७५ र ०७५र०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानुनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पुर्‍याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरु सँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको अख्तियारले आरोप लगाएको छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्का विरुद्ध चार करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ । गाउँपालिका अध्यक्ष खड्का सँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगर विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवार विरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ रुम्बा, वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवार, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामा विरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको छ ।

अख्तियारले वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालिन लेखापाल नोर्बु लामा विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 

 

footer