kumari
stcnepal

लोसपाको चुनावी गठबन्धन गर्ने अधिकार स्थानीय समितिलाई दिने निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनावी गठबन्धन गर्ने अधिकार पार्टीको स्थानीय समितिलाई दिने निर्णय गरेको छ । दुई दिन सम्म चलेको लोसपाको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले स्थानीय तहको चुनावमा स्थानीय स्तरमा जो जो सँग कुरा मिल्छ उसै सँग चुनावी गठबन्धन गर्न पार्टीका स्थानीय समितिलाई अधिकार दिएको कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले बताए ।

‘केन्द्रमा हाल सम्म कुनै दल सँग गठबन्धन नबनेको हुनाले स्थानीय स्तरमा जुन दल सँग अनुकुल मिल्छ, त्यो दल सँग तालमेल गर्न अधिकार बैठकले दिएको छ’ उनले भने, ‘केन्द्रमा गठबन्धनका लागि कुराकानी चलिरहेको छ, तर अहिले सम्म टुगों लागेको छैन, केन्द्रका लागि पर्खिनु भन्दा स्थानीय तहमै चुनावी तालमेलका लागि जिम्मेवारी दिँदा उपयुक्त हुने भनेर त्यसरी स्थानीय समितिलाई अधिकार दिइएको हो ।’

गठबन्धन लगायत सरकारको सहभागिताका विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सँग कुराकानी भएको बताउँदै उनले मधेशको मुद्दा सम्बोधन नगरे सम्म लोसपा सरकारमा नजाने उनले बताए । यद्यपि, मधेशको माग पुरा गराउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको उनले बताए । प्रधानमन्त्री देउवा भारत बाट फर्केपछि उक्त विषयमा पुनः छलफल हुने उनले बताए ।

केन्द्रीय समिति बनाउनका लागि पार्टीमा गृहकार्य भइएको बताउँदै उनले स्थानीय चुनाव अघि नै केन्द्रीय समिति गठन गर्ने छलफल भएको बताए । ‘कार्यकारिणी समिति विस्तार तथा पदाधिकारी चयन स्थानीय तहको चुनाव पछि हुन्छ’ उनले भने, ‘चुनावमा कार्यकारिणी समितिका सदस्य लगायत अन्य नेतहरुलाई जिम्मेवारी दिइनेछ, कसले कति काम गरे त्यसको आधारमा पनि पदाधिकारी चयन हुन्छ । चुनावमा पार्टीको शक्ति परीक्षणका साथै नेता तथा कार्यकर्ताको क्षमताको पनि मूल्याङ्कन पनि हुन्छ ।’

 

footer