kumari
stcnepal

अबको केही महिनापछि चीनीको हाहाकार हुने

काठमाडौ । गत चैत्र ११ गते देखि मुलुकमा लकडाउन लागु गरिएको छ । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरका लाखौँ व्यक्तिले ज्यान गुमाईसकेका छन् भने लाखौँ लाख व्यक्ति संक्रमित भएका छन् । विश्वमा फैलिएको उक्त भाइरसबाट कसैले ज्यान गुमाउनु नपरोस् भनेर नेपाल सरकारले लकडाउन लागु गरेको छ । लकडाउनका कारण नेपाली जनता घरैमा बस्न बाध्य भएका बेला केही उद्योगी, व्यवसायी र काला व्यापारीहरुले प्रत्येक सामानमा मूल्यबृद्धि गरेका छन् । बजारमा कुनै सामानको अभाव नभएको अवस्थामा मूल्यबृद्धि हुनुपर्ने कुनै कारण नभएपनि मूल्यबृद्धि भइरहेको छ । आखिरी किन ? लकडाउन जस्तो जटिल समस्या भोगिरहेका जनतालाई काला व्यापारीहरुले लुटिरहँदा पनि सरकार भने मुखदर्शक बनेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मन्त्रालय अन्र्तगत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही अनुगमन गरेर काला व्यापारीहरुलाई दण्ड सजाए गरेपनि त्यो प्रर्याप्त देखिएको छैन ।

पछिल्लो समयमा चिनीको मूल्यबृद्धि गरिएको छ । सरकारले चीनीको मूल्य रु. ७३ प्रतिकिलो कायम गरेको भएपनि साल्ट टेडिङ्ग कर्पोरेशनले बाहेकका अन्य व्यापारीहरुले प्रतिकिलो चीनी ८५ देखि ९० रुपैँया सम्मको मूल्यबृद्धि गरेका छन् । मुलुकमा लकडाउन लागु हुनुभन्दा पहिलाकै मूल्यमा साल्टले सामान विक्रि वितरण गरिहरेको भएपनि अन्यले दाल चामल चिउरा खानेतेल लगायतका सबै सामानको मूल्यबृद्धि गरेका छन् । चिनी उद्योग संघले चीनीको मूल्य नबढाएको दाबी गरेपनि चिनी उद्योगीहरुले नै चिनीको मूल्य बढाएको आरोप खुद्रा व्यापार संघले लगाएको छ । साल्टले रु. ७३ मै चिनी विक्रि गर्दा पनि उसलाई फाइदा नै हुन्छ भने अन्य व्यापारीहरुलाई किन फाइदा नहुने ? भ्याट बाहेक चिनीको मूल्य कसरी रु. ९० भयो ? यो कालोबजारी नै हो । पछिल्लो समयमा साल्टले लकडाउनको बेला टोल टोल र गल्ली गल्लीमा पुगेर रु. ७३ मै चीनी बेचिरहेको छ भने अहिले उसले डिलरलाई चीनी विक्रि गर्न सकेको छैन । साल्टसँग चीनीको अभाव हुँदै गएकाले त्यसैकारण कालाबजारिया र नाफाखोर व्यापारीले चिनीको मूल्य बढाएका छन् तर सरकार भने मौन रहेको छ ।

नेपाललाई वार्षिक दुई लाख ४० हजार मेट्रिकटन चीनीको आवश्यकता हुन्छ । त्यसमा एक लाख ४० हजार मेट्रिकटन नेपालमै उत्पादन हुने र १ लाख मेट्रिकटन आयात हुने गर्दछ । अब चिनीको मूल्यलाई स्थिर राख्नको लागि सरकारले ५० प्रतिशत भन्सार छुटमा चिनी ल्याउन साल्टलाई नै अनुमति दिनुपर्ने आवश्यकता देखिन्छ । अबको केही महिना पछि नेपालीहरुका महान चाडपर्व दशैं तिहार छुट जस्ता महत्वपूर्ण पर्वहरु आउने हुनाले त्यस्ता पर्वलाई मध्यनजर गरेर अहिले नै चिनीको आयात गर्न साल्टलाई अनुमति नदिएको खण्डमा दशैं तिहार छुट जस्ता पर्वमा चिनीको अभाव हुन सक्ने भएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसतर्फ ध्यान दिएर तत्काल साल्टलाई चीनी आयातको अनुमति दिइनुपर्ने आवश्यकता देखिन्छ ।

footer