kumari
stcnepal

माधव नेपालको बिधि बिधान र पद्दती नातागोतामै सिमित, नेपाल पनि प्रचण्ड पथमै उद्दत

काठमाडौं । संयोग नै मानौं,विहीवारको मन्त्रिपरिषद बैठकले सत्ता गठबन्धनका शीर्ष नेताहरुका पारिवारिक सदस्यलाई विभिन्न नियुक्तिमा अवसर दियो । किस्ता किस्तामा सार्वजनिक भएको निर्णय अनुसार माओवादी अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भए ।

सोही दिनको निर्णय बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेल र माओवादी नेतृ तथा मन्त्री पम्फा भुसालका बहिनी ज्वाइँ बासुदेव मिश्र पनि राजदूत नियुक्तिका लागि सिफारिस भए । प्रधानमन्त्री शेरवहादुर देउवाको युवाकालीन मित्र ज्योति प्याकुरेल पनि राजदूत नियुक्तिका लागि सिफारिस हुँदै सबै भन्दा बढी चर्चा भने माधव नेपालका ज्वाइँले अवसर पाएकोमा भयो । जबकी विवादस्पद र स्वार्थ बाझिने व्यक्तिहरु राजदूतमा नियुक्ति सिफारिस भएका छन् ।

तर चर्चा भने माधव नेपालको बिधि पद्दति अन्ततः आफन्त र नातागोताको नियुक्तिका लागि रहेछ भनेर उडाउने ढंगले भइरहेको छ । के माधव नेपालले यसपटक पार्टी बनाइसकेपछि आफन्त र परिवारलाई प्राथमिकता दिएका हुन् त ? नेकपा एस भित्रै पनि यस बारेमा चर्चा हुन थालेको छ । माधव नेपाल माथि आरोप लगाउनु अघि केही नियुक्ति र जिम्मेवारी पाएका व्यक्तिहरु हेरौं,जसका कारण माधव नेपाल माथि पार्टीलाई आफ्ना मान्छे भर्ति गर्ने अवसरका रुपमा प्रयोग गरेको आरोप लागिरहेको छ ।

माधव नेपालका बहिनी ज्वाइ पोखरेलले राजदूत नियुक्ति अवसर पाएकै दिन गोविन्द बन्दी कानून मन्त्री बने । बन्दी माधव नेपालको पारिवारिक नातेदार हुन् । माधव नेपालकी छोरी र नेकपा एसकै सांसद तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेका छोरा बीच विहे भएपछि यी दुई नेता सम्धी बने । पार्टी विभाजनमा लाग्ने पटक्कै इच्छा नहुँदा नहुँदै पनि पाण्डे अहिले नेकपा एसमा छन् । उनी विभाजनको बेला सनाखत गर्न समेत अन्तिममा पुग्दा अवसर पाएनन् र अदालतको आदेशका आधारमा अहिले एसमा छन् । माधव नेपाल सँग पारिवारिक सम्बन्ध नै बिग्रने भएपछि आफू एमाले बाट बाहिरिएको उनले केही नेतालाई बताएका थिए ।

तीनै सोम प्रसाद पाण्डे र नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दी साँढु हुन् । सोम पाण्डेकी पत्नीको निधन भइसकेको छ । बहिनी रक्षा बस्याल बन्दीको श्रीमती हुन् । त्यहि नाताका कारण बन्दी माधव नेपालको रोजाइमा परेको बताइन्छ । बन्दीलाई मन्त्री बनाउन माधव नेपालले नेकपा एमाले विभाजन अघि नै निर्दलीय व्यक्तिका रुपमा सिफारिस गरेका थिए । अहिले नेकपा एसका धेरै निर्वाचित सांसद मन्त्रीका आकांक्षी हुँदाहुँदै बन्दीले चान्स पाए ।

यो पछिल्लो नियुक्ति हो । एमाले विभाजन नहुँदै माधव नेपालले आफ्नो कोटा बाट लामो समय देखि स्वकीय सचिवको भूमिका रहेका र पारिवारिक नाता समेत पर्ने यादवचन्द्र शर्मालाई वागमति प्रदेश प्रमुखका नियुक्ति दिलाए । त्यसबेलै माधव नेपाल निकट नेताहरुले आलोचना गरेका थिए । यादवको नियुक्ति पछि नेकपा एस बन्यो । एसको केन्द्रीय समितिमा कान्छा भाइ सरोज कुमार उपाध्याय र गोविन्द बन्दी पनि समेटिए । तर बन्दीले केन्द्रीय सदस्य बस्न अश्वीकार गरे । उपाध्याय अहिले नेकपा नेकपा एसको इन्जिनियर विभागको इन्चार्ज छन् । नेपालका अर्का स्वकीय सचिव मोहन गौतम पनि केन्द्रीय सदस्य छन् । उनी भने राजनीतिक योग्यताकै आधारमा बनेका हुन् ।

त्यसो त माधव नेपालका माइला भाइ अनिल कुमार उपाध्याय पनि कृषि विकास वैंकको सिइओ छन् । तर उनको नियुक्ति भने केपी ओली नेतृत्वको सरकारकै पालामा भएको थियो । अनिललाई माधव नेपाल आफू प्रधानमन्त्री भएका बेला नियम संशोधन गरेर हङकङको महावाणिज्य दूत बनाउँदा पनि विवाद भएको थियो । नेकपा एसका नेताहरु बीच माधव नेपालले आफन्त र झलनाथ खनालले ‘मालवाला’ खोजेर नियुक्ति दिने गरेको भन्दै आलोचना हुने गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड माथि परिवारवादको आरोप लाग्नेृ गरेकोमा पछिल्लो समय माधव नेपाल पनि प्रचण्ड पथमा हिँड्न लागेको नेकपा एसका एक नेताले बताए ।

 

 

 

footer