kumari
stcnepal

खेलाडी प्रशिक्षक बिवाद : तीन सदस्यीय छानविन समिति गठन

काठमाडौं ।राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ । आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

नेपाली सेनाका पूर्व रथी भिक्टर राणाको संयोजकत्वमा रहेको कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबलर विदूर विष्ट सदस्य छन् । करिब दुई साता अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि सुरु भएको विवाद समाधान हुन सकेको थिएन । खेलाडीहरुले नै घटना बारे छानविन गर्न माग गर्दै आएका थिए । उनीहरुलाई प्रशिक्षक र खेलाडीको विवादको विषयमा समस्या पहिचान गर्दै त्यसको विषयमा छानविन गर्न एक साताको समय दिइएको छ ।

एन्फा बैठकमा कार्यसमितिका १७ मध्ये राजीनामा दिएका तीन सदस्य बाहेक अरु उपस्थित थिए । एन्फा भित्रै बाट समस्या समाधानको प्रयसा गरे पनि त्यसमा सहमत हुन नसकेपछि कार्यदल गठन गर्ने निर्णय भएको थियो । यसअघि गत बुधबार एन्फाले भिक्टर राणा मात्रै रहने गरी एक सदस्यीय छानविन समिति गठन गरेको समाचार आफ्नो वेवसाइटमा प्रकाशित गरेको थियो । तर, पाँच मिनेट नवित्दै हटाइएको थियो । नेपालले एक महिनापछि कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतरमा अफगानिस्तान सँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै उनीहरुले प्रतिवेदन बुझाउनुपर्नेछ ।

 

 

footer