रुकुम पश्चिम। रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्कर बाट एक जना मतदाताको निधन भएको छ ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा निधन भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी लगायत मृतक खत्री परिवारका सदस्यहरु सँगै अस्पतालमा छन् ।
बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर सवार थिए । खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।
माओवादी केन्द्रकी नेतृ केसीले घटना नियोजित भएको दाबी गरेकी छन् । ‘माओवादी केन्द्र विरुद्ध तालमेल गरेका कांग्रेस-एमाले हार्ने निश्चित भएपछि गुण्डागर्दी शैलीमा हामीहरु माथि आक्रमण गरिरहेका छन्, यो घटना पनि सोही अन्तर्गतको हो,’ केसीले भनिन् ।
उनका अनुसार घटना हुने बेला मृतक प्रविण खत्रीका छोरा सुरेश पनि सँगै थिए । रुकुमका विभिन्न स्थानमा माओवादी र कांग्रेस-एमाले गठबन्धन बीच झडप हुँदै आएको छ । आज पनि छिङ लगायतका स्थानमा झडप भएको छ।