kumari
stcnepal

राष्ट्रिय एकताकै लागि राजगद्दी त्यागेको थिएँ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत पुस २७ गते पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले नेपाल निर्माणमा आफ्ना पुर्खाको स्मरण गरेका छन् ।

‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जिवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ । त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशिर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो’, पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी वक्तव्यमा भनिएको छ ।

पृथ्वी नारायण शाहकै नेतृत्वमा नेपाल एकीकरण भएको थियो । यसै कारण उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै आएको छ । पछिल्लो समयको राजनीतिक अस्थीरता र त्यसले निम्त्याएको परिस्थितिबारे चिन्ता व्यक्त गर्दै उनले भनेका छन्–यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ । उनले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गरेका छन् । त्यसै अनुसार शाह वंशीय परम्परा अगाडि बढेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ’ राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले नेपाली जनताले अहिले भोगिरहेको राजनीतिको समीक्षा गर्न ढिलो भैसकेको भन्दै परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर अरुको इच्छा पूरा गर्ने अवान्छित काम भइरहेको उल्लेख गरेका छन् । राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता बलियो बनाउनुपर्ने भन्दै यसको अपरिहार्यता भविष्यमा समेत हुने र पृथ्वी जयन्तीको सार्थकता त्यसैमा रहने पूर्वराजाको भनाइ छ ।

footer